कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान

दमक/ कोशी प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुलाई आव्हान गरेका छन ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा कुनैपनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई दुई भन्दा बढी दलको समर्थनमा कोशी प्रदेश सभाका सदस्यहरुलाई २१ असार अपरान्ह ५ बजे सम्ममा मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका हुन ।

नेपालका महान्यायधिवक्ताको समेत राय परामर्शमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीका लागि खापुङले आइतबार त्यस्तो आव्हान गरेका हुन ।

यसअघि गएको पुषमा प्रदेश सरकार गठन हुँदा नेकपा एमालेका संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नेकपा माओवादी, राप्रपा र जनता समाजवादी पार्टीको समेत समर्थन थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि १४ असारमा मुख्यमन्त्री कार्कीले संविधान बमोजिम प्रदेश सभामा विश्वासको मत मागेका थिए । १५ असारमा बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि चाहिने मत संख्या ( प्रदेश सभा सदस्य ) नपुग्दा पदमुक्त हुनु परेको थियो ।

 

प्रदेश सभाको बैठकमा स्थगित भएपछि मुख्यमन्त्री कार्की बहिरै

विराटनगर/  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्ताव माथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेसभाको बैठक अझै सुरु भएको छैन ।

मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु भने प्रदेशसभाबाट बाहिरिएका छन् । मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि वैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने ।

मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि एमालेका प्रदेशसभा सदस्यहरुमा पनि अन्योल देखिएको छ । एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्री निस्कनुको कारण थाहा नभएको बताए । जवाफ तयार गर्न उहाँ निस्कनुभएको हुनुपर्ने उनको भनाई छ ।

आजको बैठकमा बोल्दै काँग्रेस, माओवादी र नेकपा एसले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए । १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ । प्रदेशसभाको आजकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ ।

स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले भोलीको समय माग गरेका थिए । सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ । एमालेका सांसद एकराज कार्कीले भने मत विभाजन हुने दाबी गरे ।

-हाम्रोमत बाट