दमक/नेकपाका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारलाई टिकाउनकै लागि सरकारले संसद विघटनको कदम चालेको बताएका छन । दमकमा आज आयोजित दमक नगरपालिकाको आठौं नगर सभामा बोल्दै उनले भने –झण्डै दुई तिहाई मत प्राप्त सत्ताधारी नेकपाबाटै संसदिय अभ्यास र मुल्य मान्यतालाई तिलाञ्जली दिएर अविश्वासको प्रस्ताव ल्याइसकेपछि संसद विघटनको विकल्प थिएन । वर्तमान केपी ओली नेतृत्वको सरकारले लोकप्रिय कामहरु गरेको फेहरिस्त प्रस्तुत गर्दै नेता दाहालले प्रतिपक्षी दलहरुलाई इंिगत गर्दै संसद विघटन गरेर चुनावमा नजाने भनेको छैन, नयाँ जनादेशमा जानु कसरी प्रतिगमन भयो र ? चुनावमा जाने भनेकै छ यो प्रतिगमन होइन अग्रगमन हो ।

झण्डै दुई तिहाई हैसियत भएको नेकपालाई भन्दा प्रमुख प्रतिपक्षदेखि साइजमा धेरै साना प्रतिपक्षहरुलाई सडकमा आउनुको औचित्य आफुले नबुझेको बताए । मुलुक चुनावी माहौल तर्फ उन्मुख भएको भन्दै उनले संसद विघटनको मुद्धा अदालतमा रहेपनि अदालतले के गर्ला ? निर्वाचन आयोगले के गर्ला ? भन्ने द्धिबिधा नराखि चुनावमा होमिनुपर्ने उनको भनाई थियो ।
उनले ओली सरकारका राम्रा कामहरु भन्दै फेहरिस्त सुनाउने क्रममा संघीयता कार्यान्वयनका लागि ९० वटा नयाँ कानुन बनाएको, ३०० वटा पुराना कानुनहरुको परिमार्जन गरेको, लाखौं जनतालाई विपन्न आवास उपलब्ध गराएको, ५ लाख ५ हजार बेरोजगारलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा रोजगारी दिइएको, मजदुरको तलब ३९ प्रतिशत बढाएको, भुकम्पबाट क्षतिग्रस्त ५ लाख ६० हजार संरचना पुननिर्माण गरेको , दैनिक ५ किलोमिटर सडक कालोपत्रे गरिरहेका, रेल, पानी जहाज लगायत सपना जस्ता लाग्ने कुराहरु पूरा हुँदै गएको पनि उनले बताए ।