दमक/ आज आइतबारदेखि झापासहित सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम शुरु भएको छ ।
झापाको कमल गाउँपालिकाको केर्खास्थित स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर यो अभियानको शुभारम्भ गरेका छन् । सो गाउँपालिकाका सबै वडास्थित स्वास्थ्य केन्द्रहरुबाट यो औषधि खुवाइनेछ भने स्वास्थ्यकर्मीहरुलाई यो अभियानका लागि बिद्यालय र गाउँ–टोल सम्म औषधिसहित पठाइएको गाउँपालिकाले जनाएको छ । कमल २ स्थित समयगढमा वडाध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा शुभारम्भ गरिएको छ ।
फेयरमेड र साहारा नेपालका पवन चाम्लिङ्गले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका छन भने २ नम्बर वडा अध्यक्ष सुब्बाले हात्तीपाइले बिरुद्धको आमऔषधि सेवन गरि कार्यक्रम शुभाराम्भ गरे ।

हात्तीपाइले विरुद्धको औषधि नखाएमा खुट्टा हात सुनिने ,महिलाहरुमा स्तन सुनिने र आकार बड्दै जाने ,गुप्ताङ्ग सुनिने र आकार बड्दै जाने र पुरुषहरुमा अण्डकोष सुनिने ( हाड्रोसिल ) जस्ता समस्या निम्त्याउने कमल गाउँपालिकाका स्वास्थ्य निरिक्षक दिपक दाहाल बताउँछन् ।
यो रोग लागिसकेपछि उपचार सम्भव नभएको र पुरानो तथा सामान्य अवस्थामा फर्कन नसकिने भएकाले पनि यसप्रति सचेत भएर आम नागरिकले औषधि सेवन गर्नुपर्ने दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई बताउँछन् ।
शाखा प्रमुख भट्टराईका अनुसार हात्तीपाइले औषधि सेवनलाई सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय झापासँगको सहकार्यमा नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल गरिसकेको छ । नगरपालिकाले नगरस्थित सबै बिद्यालयका शिक्षकहरुसँग प्रतिनिधिमुलक अन्तरक्रियात्मक छलफल गरेर हात्तीपाइले विरुद्धको औषधि सेवनलाई प्रभावकारी रुपमा अघि बढाउने तयारी गरे अनुसार यो कार्यक्रम अघि बढाइएको जनाइएको छ ।
३० बैशाख सम्ममा लक्षित सबैलाई औषधि खुवाइने सरकारको योजना छ ।
धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा पनि हात्तीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए । हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको भनाई छ ।
यसवर्ष हात्तीपाइले विरुद्धको कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ ।
आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको सोे कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेका छन । हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन,डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन् ।
कस–कसले सेवन गर्नु हुँदैन ?
–दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
–गर्भवती र सात दिन सम्मका सुत्केरी
–छारे रोगको समस्या भएका व्यक्तिहरु
–पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु
–सिकिस्त बिरामीहरु
सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन्। जस्तै मिर्गाैला रोगको डायलासिसका बिरामीहरु आदि ।