दमक / राष्टिय राजनीतिको ध्यान खिचिएको झापा क्षेत्र नं ५ मा आगामी मसिंर ४ मा हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट को उम्मेदवार बन्ला ? भन्ने जिज्ञासा व्याप्त छ । उम्मेदवारका लागि सत्तारुढ दल भित्र सिट बाँडफाँडको मोटामोटी टुंगो लागेपनि केन्द्र तहमा कुन क्षेत्रमा कसले लिने भन्न निक्र्यौल भइसकेको छैन ।
झापा क्षेत्र नं ५ मा नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई उम्मेदवार मात्रै बनाउँदै छैन भावी प्रधानमन्त्रीको उम्मेदवार रुपमा समेत अघि सारिसकेको अवस्थामा एमाले इतर सत्तारुढ गठबन्धनले बनाउने उम्मेदवार दर्बिलो बनाउनु पर्नेमा गठबन्धन भित्रका दलहरु एकमत छन ।

प्रमुख दल कांग्रेस र माओवादीका महिला नेतृदेखि युवा पुस्ताका उदाउँदा नेताहरु समेत केपी ओलीसंगको चुनावी प्रतिस्पर्धामा जित निकाल्ने उदघोष गर्दै उम्मेदवारीको घोषणा गरिरहेको बेला नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ ले पार्टी केन्द्रीय सदस्य समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुसहित अन्य चार जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ । केही दिनदेखिको लगातारको बहस र छलफलपछि कांग्रेसले संघीय निर्वाचन क्षेत्र र प्रदेश तर्फका उम्मेदवारहरुको नाम सिफारिस अनुमोदन गरेको छ ।

क्षेत्रले संघीय संसदको प्रत्यक्षमा महिलातर्फ सांसद लिम्बूको नाम एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने पुरुषतर्फ वर्णानुक्रम अनुसार महाधिबेशन प्रतिनिधि तथा अघिल्लो निर्वाचनका प्रत्यासी डा. खगेन्द्र पाण्डव अधिकारी, एमालेबाट बिद्रोह गरेर कांग्रेसमा सक्रिय राजनीति गरिरहेका नेता, तत्कालिन तोपगाछी गाविसका अध्यक्ष पदम पौडेल, २०६४ मा तत्कालिन माओवादीबाट उम्मेदवार बनेर ओलीलाई नै पराजित गर्दै पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय बिश्वदिप लिङदेन र कांग्रेसमा युवा नेताको रुपमा उदाएका नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्यासी मेदनी प्रसाद सिटौलाको नाम प्रत्यक्ष तर्फका उम्मेदवारका लागि सिफारिस गरेको हो ।
यसैगरी समानुपातिक पुरुषतर्फ अमर बराईली , कृष्ण धिमाल, दिलिप राई र सुरेश सुब्बाको नाम वर्णनुक्रम अनुसार सिफारिस गरिएको कांग्रेसले जनाएको छ । यसैगरी, संघीय संसदको समानुपातिक महिलातर्फ रामकुमारी पौडेलको नाम सिफारिस गरिएको बुझिएको छ ।

संघीय क्षेत्र कांग्रेसकै भागमा पर्ने
गठबन्धन भित्र संघीय संसदका लागि झापा ५ कांग्रेसकै भागमा पर्ने बुझिएको छ । गठबन्धन भित्र एमाले अध्यक्ष ओलीको क्षेत्रमा अन्य पार्टीबाट भन्दा कांग्रेसबाटै उम्मेदवार बनाइए बलियो प्रतिस्पर्धा गर्न सकिने निचोड छ । त्यसैकारण पनि यो क्षेत्रमा माओवादीले कुनै एकमा प्रदेश सभा सदस्यको टिकट लिन माओवादी कन्भिन्स भएको कांग्रेस नेताहरुको तर्क छ । तर क र ख मध्ये कुन लिने भन्ने कुरामा नेताहरुबीच संवाद टुंगिनसकेको बताइएको छ ।

राप्रपाले माग्यो केन्द्रसंग अधिकार, भयो यस्तो निर्णय
एमाले र राप्रपाबीच देशभर सिट संख्याको भागवण्डा मिलाउने कसरत भइरहेको समाचार आइरहेका छन । एमाले र राप्रपाबीच हुन सक्ने सहकार्यको मुल उद्धेश्य ओलीलाई यो क्षेत्रमा राप्रपाले सघाओस भन्नेनै हो । तर राप्रपाका लागि एमालेले राखेको यो उद्धेश्य पुरा गर्न दिनका लागि त्यति सहज छैन । राप्रपासहित सत्तारुढ गठबन्धन दलका स्थानीय नेताहरुबीच क्षेत्रीयस्तरमा गएको स्थानीय चुनावमानै सके सम्म आगामी निर्वाचनमा पनि तालमेल गरेरै जाने , नभए राप्रपाले एमालेसंग तालमेल नगरी एक्लै चुनावमा भिडनु पर्ने आपसी समझदारी राप्रपा र सत्तारुढ गठबन्धनका बीचमा भइसकेको गठबन्धनमा आवद्ध दलका एक स्थानीय नेताले खुलासा गरेका छन ।
उनले भनेका छन – हामीसहितको समर्थनमा भर्खरै स्थानीय चुनावमा राप्रपाले दमकमा मेयर पद जितेको कारण राप्रपाका स्थानीय नेता, कार्यकर्ता र मतदाताहरु यसमा कन्भिन्स हुनुहुन्छ त्यसैले पनि राप्रपा र एमाले तालमेल अन्त भएपनि यहाँ हुँदैन । उहाँहरु( राप्रपा)को उम्मेदवार यहाँ रहने नरहने भन्ने कुरा उहाँहरु (राप्रपा)ले नै जान्ने कुरा रहयो ।
राप्रपाले दमकमा बिहिबार मात्रै क्षेत्रीयस्तरको चुनाव लक्षित विस्तारित बैठक गरेको जनाइएको छ । विस्तारित बैठकले तालमेलका बिषयमा पछि के हुने ? भन्ने निक्र्यौल भइनसकेको अवस्थामा १९ गते सम्ममा पार्टीका तर्फबाट यहाँको संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका आकांक्षी नेताहरुको नाम क्षेत्रका सबै पालिकाहरुको सिफारिस अनुसार जिल्ला समितिमा पठाउने निर्णय गरेको राप्रपाका क्षेत्रीय अध्यक्ष भिम पौडेलले बताए । अन्य ठाउँहरुका बिषयमा पार्टीले जे निर्णय लिएपनि झापा क्षेत्र नं ५ का बिषयमा पार्टीको स्थानीय नेता, कार्यकर्ताहरुलाई नै अन्तिम निर्णय लिने अधिकार प्रत्यायोजनका लागि अनुरोधसहित केन्द्रीय समितिलाई पत्र लेखिने पनि राप्रपाले जनाएको छ । सहकार्यका बिषयमा छलफल हुँदै गर्छ पार्टीले तय गर्ने उम्मेदवारको तयारी पनि हुँदै गर्छ -अध्यक्ष पौडेलले भने । क्षेत्रीय स्तरको सो विस्तारित बैठकले चुनाव प्रचार प्रसार, आर्थिक तयारी लगायतका कामहरु अघि बढाउन सम्पूर्ण जिम्मा क्षेत्रीय अध्यक्ष पौडेल संयोजकत्वको समितिलाई दिने निर्णय पनि गरेको जनाइएको छ ।

Facebook Comments Box