निष्कर्ष न्यूज
धिमाल जाती पूर्वका झापा, मोरङ र सुनसरीमा विशेष बसोबास गर्ने अल्पसंख्यक जातीमा पर्छ । पञ्चायत कालमै दमक, राजघाट, बयरवन, केरौन, डागीहाट, खोर्साने हरैचामा प्रधान पञ्च, उप प्रधान पञ्च भएर यो समुदायका नेताहरुले नेतृत्व सम्हालिसकेको इतिहास छ । यतिबेला विशेष गरी आसन्न स्थानीय निर्वाचन २०७९ को लागि उम्मेदवार चयनको कसरत चलिरहँदा दमकमा सघन बसोबास रहेको धिमाल समुदायबाट उम्मेदवार छनोट होलान वा नहोलान भन्ने जिज्ञासा बढदो छ ।
जानकारहरुका अनुसार दमकमा मागुलाल धिमाल प्रधानपञ्च थिए । २०४९ सालको चुनावमा मोहन धिमाल र ५४ सालको चुनावमा लोकबहादुर धिमाल उप मेयरमा निर्वाचित भएर नेतृत्वमा स्थापित बने भने २०५४ सालको चुनावमा उर्लाबारीमा उपाध्यक्ष पदमा निर्वाचित भएर कुमार धिमालले नेतृत्व गरेका थिए ।
स्थानीय तहको पहिलो निर्वाचन (२०७४) मा धिमाल समुदायका नेताहरु विभिन्न पार्टीबाट उम्मेद्वार बने पनि एकाध ठाउँमा वडा अध्यक्षमा सिमित बन्न पुगेका थिए ।
२०४९ मा १ र २०५४ मा २ उपमेयर भएका धिमाल समुदाय वडामा सिमित बन्न पुगेका थिए ।
यस अघी पन्चायतकालमा समेत प्रधानपञ्च, उपप्रधान पञ्च निर्वाचित बन्न पुगेका धिमालहरुले २०७४ सालको स्थानिय तहको निर्वाचनमा साख जोगाउन सकेनन । यस पटक वडा अध्यक्षमा रामबहादुर धिमाल, लक्ष्मीनारायण धिमाल, नरेन्द्र धिमाल, जोगबहादुर धिमाल र बिकेन्द्र धिमाल निर्वाचित भएका छन् ।
२०७४ मा धिमाल जातिय विकास केन्द्रका सल्लाहकार संयोजक रहनु भएका रामबहादुर धिमाल दमक ९ मा, केन्द्रका पुर्व केन्द्रीय सदस्य लक्ष्मीनारायण धिमाल उर्लाबारी ४ मा, वर्तमान केन्द्रीय उपाध्यक्ष नरेन्द्र धिमाल मेचिनगर १२ मा, जोगबहादुर धिमाल पथरीशनिश्चरे ५ मा, बिकेन्द्र धिमाल मेचिनगर ४ मा निर्वाचित भए । उनीहरुको कार्यकाल अहिले अन्तिम चरणमा छ ।
विजेता मध्ये रामबहादुर धिमाल, लक्ष्मीनारायण धिमाल र बिकेन्द्र धिमालले एमालेको तर्फबाट उम्मेदवारी दिएका थिए भने नरेन्द्र धिमाल माओवादी र जोगबहादुर धिमालले काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए ।
२०७४ मा माओवादीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका गंगाराम धिमाल दमक १०, भक्त धिमाल पथरी शनिश्चरे ५, रामप्रसाद धिमाल उर्लाबारी ८, मा हार बेहोर्नु परेको थियो । त्यस्तै काङग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रथम धिमाल दमक २, एमालेका तर्फबाट उम्मेदवारी दिएका पदम धिमाल पथरीशनिश्चरे ६, प्रदिप धिमाल बुद्धशान्ति ५, राप्रपाबाट उम्मेदवारी दिनु भएका पर्शुराम धिमाल उर्लाबारी ८, जनमुक्ति र लिम्बुवानबाट संयुक्त उम्मेदवार बनेका बुङगालाल धिमाल उर्लाबारी ८, रमला धिमाल दमक २, जयप्रकाश धिमाल दमक ४, मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट उम्मेदवारी दिएका देवबहादुर धिमाल मेचिनगर ५ मा पराजित भएका थिए ।
त्यस्तै सदस्यहरुमा गजेन्द्र धिमाल, दमक ३ (एमाले), गोपाल धिमाल, बेलबारी ९, (माओवादी), राजु धिमाल, दमक २ (एमाले), मणिराज धिमाल, दमक ४ (एमाले), रोमान्सी धिमाल, पथरि शनिश्चरे १ (एमाले), शुसिला धिमाल, कानेपोखरी ५, (एमाले), नगेन्द्र धिमाल, पथरि शनिश्चरे ९ (एमाले), जोगेन्द्र धिमाल, बेलबारी १० (एमाले), कलमान धिमाल, चुलाचुली १, (लिम्बुवान) बाट निर्वाचित भएका थिए ।
कानेपोखरी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका सुर्यबहादुर धिमाल , दमकको मेयरमा उम्मेदवारी दिएका वीरसिङ धिमाल, नर्सिङ धिमाल र टेकबहादुर धिमाल पनि पराजित भएका थिए । दमक नगरपालिकामा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका वीरसिङ धिमाल, उर्लाबारीमा फोरम लोकतान्त्रीकको तर्फबाट मेयरमा उम्मेदवारी दिएका टेकबहादुर धिमाल र उर्लाबारी मै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका नरसिङ धिमालले गत निर्वाचनमा सय मत भन्दा कममा चित्त बुझाएका थिए । त्यस्तै उपमेयरमा उम्मेदवारी दिएका रुकमणी धिमाल, शान्ति धिमाल र धनमाया धिमालले सम्मानजनक मत पाएका थिए ।