२८ बर्ष पुरानो साइकलमा ८१ बर्षका पूर्व सांसद याङया

ऐश आराम , सेवा सुविधा र मोज मस्तीको चाहना नेपाली राजनीतिका पात्रहरुका लागि स्वभाविक जस्तै बनेको छ । जिवनको उत्तरार्धमा पनि साइकलका पाइडल घुमाउन अभ्यस्त त्यो पनि पूर्व सांसद ।

उमेरले चार कोरी १ बर्ष (८१ बर्ष) हानिसकेका झापा क्षेत्र नं ४ अन्तर्गको शिवसताक्षीको दुधे बजार नजिकैको भुगोलमा दिनभर जसो साइकल चढेरै हिंडडुल गरिरहन्छन पूर्व सांसद तारासम याङया ।

आफ्नो पूर्ण जिवन कम्युनिष्ट विचार र आदर्शमा बिताउने संकल्प गरेका याङया बैशाखको चर्को घाममा दुधे बजार नजिकै एशियन हाइवेको दक्षिण तर्फ २८ बर्ष पुरानो उही पाइडल साइकलमा भेटिए ।

साइकलका ट्युब पम्चर भएको रहेछ । साइकलको आफ्नो सम्बन्धका बिषयमा याङयाले भने– सधैं यसले मलाई बोक्थ्यो आज अलि धोका दियो मैंले यसलाई ठेल्नु पर्ने भो ।

एकैछिन भलाकुसारी गर्ने हाम्रो चाहनालाई नेता याङयाले इन्कार गर्न सकेनन् र भने –पहिली म साइकल बनाउने ठाउँमा पुग्छु ।

साइकल मर्मत गर्ने पसलमा पुगेर उनले हामीसँग भलाकुसारीको समय निकालेर हाम्रो जिज्ञासा अनुसार आफ्नो वर्तमानको दैनिकी र विगतको राजनीतिक सामाजिक जिवनबारे खुलेर सुनाए ।

विसं २००१ सालमा पाँचथरको ओयाममा जन्मिएका पूर्व सांसद याङयाको बाल्याकालदेखिनै कम्युनिष्ट राजनीतिमा मोह जागेको रहेछ ।

राजनीतिका सहयोद्धाहरु मुलुकको सर्वोच्च कार्यकारी पदका रुपमा रहेको प्रधानमन्त्री सम्म बनिसकेका छन् ।

त्यो पनि एकपटक होइन पटक पटक । तारासम पहाडबाट मधेस झरेपछिको आफ्नो कर्मथलो तत्कालिन सतासी गाविसमा बहुदलीय व्यवस्था प्राप्ती पछिका दुई चुनावमा गाविस अध्यक्ष बने ।

२०४९ र २०५४ सालमा भएका दुवै स्थानीय निकायका निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार भएर सानदार जित निकालेका उनी तत्कालिन विद्रोही नेकपा माओवादीको आन्दोलनका बेला ठाउँ छोडेर ठुला शहर बजार र सुरक्षित स्थान खोज्दै कतै भौतारिनु परेन । माओवादीको सशस्त्र विद्रोह २०५२ देखि ०६२ सम्ममा धेरै जनप्रतिनिधि (गाविस अध्यक्ष)हरु माओवादीको निशानामा परे ।

जलथल गाविसका तत्कालिन अध्यक्ष केशवकुमार कन्दङवा, खजुरगाछी गाविसका तत्कालिन अध्यक्ष श्यामसुन्दर यादवहरुले माओवादी युद्धको निशानामा परेर ज्यानै गुमाउनु पर्यो । तर सतासी गाविसका तत्कालिन अध्यक्ष याङया त्यस किसिमको निशानाबाट बचेनन् मात्रै संसदीय निर्वाचनमा जनताबाट निर्वाचित नै भएको इतिहास छ ।
आफूलाई निरन्तर जनसेवाका काममा व्यस्त राखे । उनी २०५६ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा झापाको तत्कालिन निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट सांसदको उम्मेदवार बनेर चुनावी मैदानमा होमिए ।

त्यसबेला कांग्रेस एमालेको राजनीतिमा सांसदको टिकट पाउन रस्साकस्सी चल्थ्यो । त्यही बेला मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसले झिलझिलेका सन्तोषकुमार मेन्याङबोलाई सो क्षेत्रबाट सांसदको उम्मेदवार बनायो । याङयालाई एमालेले ।

गाविस अध्यक्षमा दुई पटक निर्वाचित भइसकेका याङयाको क्रेज राम्रो थियो । सरल र सादा जिवनको पर्याय जस्तै थियो तारासमको राजनीतिक जिवन । मतदाता अर्थात जनताले उनको त्यो सरलता, कामप्रति इमान्दारिता र असल गुणलाई आफ्नो मत मार्फत सम्मान जनाए । परिणाम स्वरुप याङया प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
तर ५ बर्षे कार्यकाल नपुग्दै २०५९ मानै तत्कालिन राजा ज्ञानेन्द्रको सक्रियताले संसद विघटन हुन पुग्यो । राजनीतिक भाषामा यसलाई प्रतिगमन भनियो । २०६१ माघ १९ मा सम्पूर्ण शासन सत्ता तत्कालिन राजा ज्ञानेन्द्रको कब्जामा गयो ।

राजनीतिले कोल्टो फेर्यो तत्कालिन विद्रोही माओवादी समेतको साथ समर्थनमा तत्कालिन कांग्रेस–एमालेसहितको संयुक्त जनआन्दोलन २०६२÷०६३ भयो । कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीलाई शान्ति प्रकृयामा निरन्तर हिंडाउन र राजा ज्ञानेन्द्रको कदम सच्याउन संयुक्त जनआन्दोलन भयो ।

२०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले विघटन गरेको संसद जनआन्दोलनको बलबाटनै २०६३ मा पुनस्र्थापना भयो ।

पुनस्थापित संसदमा पनि प्रतिनिधित्व गरे तत्कालिन सांसद याङयाले ।

०५४ सालमा दोस्रोपटक गाविस अध्यक्ष हुँदा किनेको उनको साइकलको भरमा चुनाव जित्न सक्ने अवस्था थिएन । २०५४ मा गाविस अध्यक्ष हुँदा किनेको साइकल अहिले पनि उनको हिंडडुलको एकमात्र भरपर्दो साधनका रुपमा छ ।

उनी भन्छन्, ‘त्यसवेला जनप्रतिनिधि गाडी चढ्दैनथे, मोटरसाइकल एकाध जनप्रतिनिधिले चढ्थे । मचाहिँ साइकलमै थिएँ र साइकलमै छु ।

तारासम पार्टीको इलाका, क्षेत्र, जिल्ला कमिटी हुँदै मेची अञ्चल कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सम्मका जिम्मेवारीमा पुगे ।

एमाले अध्यक्ष केपी ओली निकटका पात्र मानिए पनि अहिले ओलीका आसपासमा घुम्ने नेता, कार्यकर्ताहरु जस्तो सत्ता र शक्तिको मोह याङयाले कहिल्यै राखेनन् ।

लोभलालच र सुविधाभोगीको दुनियाँबाट टाढा बसेका उनलाई कम्युनिष्टहरुले मात्रै होइन पञ्चायती शासक हुन वा तत्कालिन विद्रोही गणतन्त्रवादी माओवादीका नेता, कार्यकर्ताहरु पनि ‘असली कम्युनिष्ट’ नेताको रुपमा स्वीकार्छन ।

हुन पनि उनी ८१ बर्षको यो उमेरमा अझै आफ्नो खेतीपातीको , गाइगोठको काममा लागिरहेकै छन् । खेतबारीमै पसिना बगाएर आफ्नो घर परिवारका लागि अन्नबाली उत्पादन गर्छन । ‘आफूलाई चाहिने धान, मकै आफैँ फलाउँछु,’ उनी भन्छन्, ‘मन स्थिर राख्न ध्यान गर्छु, शरीरलाई तन्दुरुस्त राख्न व्यायाम गर्छु । साइकल चलाउनु पनि व्यायाम नै हो, त्यसैले म अझै पनि साइकलमै हिँड्डुल गर्छु ।’ पूर्व सांसद तारासमको जीवनशैली नै उनी स्वस्थ्य रहनुको मुख्य कारण भएको बुझ्न गाह्रो छैन ।

कृषि क्षेत्रको जटिलता र उपेक्षा देख्दा उनी चिन्तित छन । ‘कृषिलाई विशेष प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, कृषि क्षेत्र झन् पछि परेको छ ।’

उनी सम्झन्छन्, ‘पहिले तोरी र धान बेचिन्थ्यो, आजभोली त किन्नुपर्ने अवस्था आएको छ । खेतबारी खाली छन्, मान्छेले गाईवस्तु पाल्न छाडे, मल उत्पादन हुँदैन । संसदमा यस्ता विषय उठाइनु पर्ने अहिलेका सांसदहरुलाई उनको सुझाव छ ।

०६३ सालमा अन्तरिम व्यवस्थापिकाका सदस्य बनेका तारासमले ०५६ सालको संसदीय चुनावमा जम्मा दुई हजार रुपैयाँ खर्च गरेर चुनाव जितेका थिए । सादगी जीवनका प्रतिमूर्ति तारासमले चुनाव खर्चको अभावमानै पार्टीले दिएको टिकट त्यागेका थिए ।

०५६ मा दुई हजार रुपैयाँमा चुनाव जितेको, ०७० आउँदा त एक करोडले पनि नपुग्ने देखेर उनले चुनावमा पार्टीले दिएको टिकट पनि त्यागेका हुन् ।

उनले खर्च पनि गर्न सक्ने , खट्न पनि सक्ने जनताको सेवामा लाग्न सक्ने मान्छे ठानेर झापाको नयाँ निर्धारित क्षेत्र नं ४ मा पार्टीका तर्फबाट एलपी साँवालाई उम्मेदवार बनाउन पार्टीलाई सुझाए । साँवाले कांग्रेसका प्रभावशाली मानिएका नेता स्वर्गीय केशवकुमार बुढाथोकीसँग टक्कर गरे ।

अर्को पटकको चुनावमा याङयाले भने जस्तै एमालेका साँवाले चुनाव भ्याए । सो क्षेत्रमा पार्टीको बिरासत फर्काए । उनको स्मृतिमा पार्टीको पुरानो अनुशासन अझै ताजा छ । ‘पहिले प्रचारमा पार्टी संगठनले नै खर्च व्यहोथ्र्याे,’ उनी भन्छन्, ‘अहिले त कार्यकर्तामा पनि लोभ पलाउन थालेको छ ।’

हत्या अभियोगमा फसाइएको त्यो क्षण

०३७ सालमा तारासम योङ्या, सताक्षी प्राथमिक विद्यालयका शिक्षक, विद्यालयको आयस्रोतका लागि माघे संक्रान्ति मेला आयोजना गर्न जिम्मेवारीमा थिए । मेला आयोजना गर्ने सचिवको रूपमा उनले आयोजकको जिम्मेवारी निभाउँदै थिए । त्यो मेलामा तासजुवाबाहेक अन्य खेलकुद र मनोरञ्जनका कार्यक्रम राख्न अनुमति थियो । तर, मेलामा जुवा खेल्ने प्रचलनको विरोध गर्दै तारासम र केही अन्य व्यक्ति त्यसविरुद्ध उभिए । त्यसवेलाको झापाको राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा मेलामा जुवा खेल्न लागेका

दारासिंह, प्रधानपञ्च जंगबहादुर अधिकारी र वडाध्यक्ष शिवकुमार योङ्याबिच विवाद उत्पन्न भयो । त्यही विवादबिच दारासिंह मारिए । त्यसको दोष तारासमको काँधमा आइलाग्यो । तारासमले भने, ‘अनाहकमा मलाई सात वर्ष जेलमा हाले पछि सर्वोच्चले मलाई न्याय दियो ।