२०५६ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले एउटा नारा लेखेको पम्प्लेट गाउँमा घर घरका टाटी (बेरा)मा गोबरले टाँसेको पढन पाइन्थ्यो । कतै कतै शहरका एकाध पक्की घरका भित्तामा पनि थिए त्यस्ता पोस्टर । ति पोस्टरमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको फोटो र ठिक माथि पट्टी लेखिएको नारा थियो आगामी सरकार कांग्रेसको ,नेतृत्व भट्टराईको ।
त्यो कांग्रेसले बनाएको प्रचार सामग्रीनै त्यसबेला सर्वसाधारणसंग मत माग्ने गतिलो माध्यम थियो । सायद त्यही प्रचारका आधारमा हुनुपर्छ नेपाली कांग्रेसले सरकारमा सुविधाजनक बहुमत पायो ।
कांग्रेसले नारा अनुसार सरकारको नेतृत्व त भट्टराईलाई नै दियो । तर पुग न पुग ९ महिना सम्म मात्रै । ९ महिना पुग्दा नपुग्दा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाकै डिजाइनमा नेपाली कांग्रेसका ६९ जना सांसदले भट्टराई नेतृत्वको सरकारमाथि प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव आएको थियो ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिँदै प्रधानमन्त्री भट्टराईले पन्ध्र मिनेट लामो भावुक सम्बोधन गर्दै भनेका थिए, ‘सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो अन्तिम सम्बोधन हुनेछ ।’ २०५६ चैत ३ गते कृष्णप्रसाद भट्टराईले प्रतिनिधिसभामा गरेको सम्बोधनको पाठ हेर्नुहोस्
सभामुख महोदय,
यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक तन्त्रले समग्र नेपाललाई प्रभाव पारेको छ । मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीँ बाहिर छैन– हामीभित्र नै छ । यसमा पध्दतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ । प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन । तर, हाम्रो राजनीतिका केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पध्दति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पध्दति निर्धो हुन जान्छ र आजको हाम्रो संकट पनि त्यही नै हो ।
हाम्रो प्रजातन्त्रका सञ्चालकहरू भनेका हामी नै हौं । त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकांक्षा छ भने यस संकटका कारक पनि हामी नै हुन्छौं । पध्दति राम्रो छ तर त्यस अनरूप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ । अहिले प्रधानमन्त्रीका रूपमा मेरो नेतृत्वमाथि संकट आइपरेकाले त्यसबाट बच्न म यी कुराहरू गरिरहेको छैन । किनभने, मेरो राजनीतिको ध्येय प्रधानमन्त्रीको कुर्सीमा बस्नु थिएन । मेरो ध्येय प्रजातन्त्रको निम्ति र समृध्द समुन्नत नेपालको निर्माण थियो ।
संयोग, परिस्थिति र नेपाली जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ । त्यसमा अन्तरिमकालको प्रधानमन्त्री बन्नुमा सर्वोच्च नेता गणेशमानजीको सदिच्छा पनि समावेश थियो र त्यसपटक मैले आफूमाथि आएको जिम्मेवारी पूरा निष्ठासाथ सम्पन्न गरेको थिएँ । यसपटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वयंले आमनिर्वाचन २०५६ पूर्व नै भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेको कुरा सर्वविदित छ । सम्भवतः यही कारणले पनि हाम्रो पार्टी नेपाली कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्न सम्भव भएको हो । यद्यपि, म यस कुरामा विशेष बल गर्न चाहन्नँ । तापनि मेरो प्रधानमन्त्रित्वमा जनताको प्रत्यक्ष अभिमतसमेत अभिव्यक्त भएको छ । यसर्थ मेरो प्रधानमन्त्रित्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको हुँदा, म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु । चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्नो ठाउँमा महत्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरासामु उपस्थित भएकोले म आज निर्णायक उत्तर खोजिरहेको छु ।