डा. शेखर कोइराला

संसदमा बहुमतका लागि कांग्रेसको संख्या थिएन । संख्या नपुगेपछि अरु दलमाथि भर पर्नु स्वभाविक हो । संसदीय व्यवस्थामा संख्या वा गणितको खेल स्वभाविक हुन्छ । सत्ता समीकरणमा जसपा निर्णायक देखिएको थियो । विश्वासको मतमा प्रष्ट दुई धारमा हुँदैदेखि उनीहरुलाई मनाउन पहल गर्नुपथ्यो । अथवा एमालेको माधव नेपाल समूहका २०\२२ जना सांसदलाई राजीनामा गराउन सकेको भए पनि कांग्रेस, माओवादीसहितका दललाई बहुमत पुग्थ्यो । यो बाहेक अरु उपाय भएन । हामीले कोशिस गरेको हो । तर, त्यो सफल भएन

हामीलाई बहुमतका लागि संख्या पुग्दैन भन्ने पहिले नै थाहा थियो । यस्तोमा रणनीतिक रुपमा हामी अघि बढ्न सकेनौं । कोरोनाका कारण नागरिकहरु अक्सिजन र बेड नपाएर मृत्यु भोगिरहेको अवस्था थियो । कोरोनाको संक्रमण यत्तिधेरै बढेर जाँदा पनि सरकारका एकपछि अर्को कमजोरी थिए । पहिलो वर्षको लकडाउनपछि सरकारले केही राम्रो तयारी नगरेको होेइन तर, दोस्रो वर्षको लकडाउनपछि तयारी प्रभावकारी भएन । बरु उल्टै प्रधानमन्त्री केपी ओलीबाट सविधानलाई कुल्चने काम भयो । संसद चल्दै गर्दा अध्यादेशबाट देश चलाउने, संविधानमा व्यवस्था नै नभए पनि संसद विघटन गर्ने काम गरियो । भलै सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई उल्टाइदियो । तर सँगै राजनीतिक अन्यौल घटेर गएन झन् बढ्यो ।

प्रमुख प्रतिपक्षीका रुपमा कांग्रेसलाई सरकारका यस्ता कमजोरीलाई उठाएर लोकतन्त्र र संविधान बचाउने हामी नै हौं भनेर देखाउने एउटा अवसर थियो । संविधान बचाएर सुशासन दिन हामी तयार छौं । भनेर कांग्रेसले प्रष्ट पार्नुपर्ने थियो ।

प्रधानमन्त्रीका यस्ता कमजोरी देखाउँदै यी सबैका कारण ओलीको नेतृत्व स्वीकार्न सकिदैन भन्दै कांग्रेसले आफूले सरकारमा दाबी गर्नुहुन्थेन । हामी सरकार बनाउँदैनौं तर, लोकतन्त्र र संविधान बचाउन जसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्व स्वीकार्छौ भनेर खुल्ला रुपमा भन्नुपथ्र्यो । कोठामा होइन पत्रकार सम्मेलन गरेरै कांग्रेसले यस्तो सन्देश दिएको भए साँच्चै लोकतन्त्र र संविधान बचाउन लागेको भन्ने सन्देश जान्थ्यो ।
तर, राजनीति हो । पाँच सात दिनमा वागमतिमा धेरै पानी बगिसकेको थियो । हामीले सुरुमैं संयमतापूर्वक यी काम नगर्दा केपी ओली हावी हुँदै जसपाको महन्थ ठाकुर पक्षलाई विश्वासमा लिए ।

२७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्नवित्तिकै हामीले महन्थ ठाकुरजीलाई प्रधानमन्त्री बनाएर जान्छौं नभिनिंदा परिस्थिति अर्कैतिर गएको हो । सिंगो जसपालाई साथमा लिनुपर्नेमा सरकारका लागि जसपाको एउटा पक्षलाई लिएर वक्तव्य निकालेपछि परिस्थिति बिग्रदै गयो ।

ठाकुर हिजो कांग्रेसमा थिए त्यही आधारमा अहिले हामीलाई सहयोग गर्नुपर्छ भन्ने हुँदैन । राजनीतिमा यो सबै कुरा चल्छ । कसलाई साथ लिने वा कोसँग अगाडि बढ्ने भन्ने चल्दै जान्छ । गत निर्वाचनमा हामीले उम्मेदवारी फिर्ता लिएर महन्थजीलाई समर्थन गरेका थियौं भनेर अहिले उहाँले गुन तिर्नुपर्छ भन्ने राजनीतिमा हुँदैन ।

अझै पनि समय छ । महन्थलाई मनाउन कोशिश गरे हुन्छ । कांग्रेस, मधेसी दल, माओवादी मिलेर संविधान संसोधन पेश गरिएको थियो । देउवाजी प्रधानमन्त्री हुँदा यसरी अघि बढाएको संसोधन एमालेले पास हुन नदिएको हो । यसले पनि एमाले मधेसको मुद्दामा अनुदार छ भन्ने प्रष्ट देखाउँछ । यस्तोमा हामीले महन्थजीलाई किन ‘कन्भिन्स’ गराउन सकेनौं ? यो सबै महन्थजीले किन गर्नुभयो ? ओलीले जस्तै उहाँले पनि तत्काल चुनाव नै खोज्नुभएको हो की ? ओलीले पनि संसददेखि बाहिर चुनाव नै आफ्नो प्राथमिकतामा रहेको प्रष्टै बताउँदै आउनुभएको छ ।

तर, अवस्था के छ भने १५ जेठमा बजेट ल्याउनुपर्ने छ । त्योभन्दा अगाडि नीति कार्यक्रम संसदमा बहुमतबाट पास गर्नुपर्छ । त्यस अघि नै एमाले विवाद मिलेर महन्थ ठाकुरले समर्थन नगरे नीति कार्यक्रम पास हुँदैन । यसकारण बजेट अघि नै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । यस्तोमा फेरि पनि सकिन्छ भने महन्थजीलाई कांग्रेसले रोक्ने हो ।

तर, महन्थ पक्षका सांसदहरुलाई रिसोर्टमा राख्न एमालेमा नेताहरु खटिएका छन् । यो भनेको बहुमत पुर्याउने कसरत हो । माधवजीलाई पनि मिलाए महन्थ पक्षका १६ सांसदले समर्थन गरे ओलीलाई फेरि बहुमत पुग्छ ।

Facebook Comments Box