आज श्रावण ६ गते ३९ औं वीपि स्मृति दिवस । आजकै दिन अर्थात २०३९ साल साउन ६ गते आधुनिक नेपाली राजनीतिका सिंगो इतिहास विश्वेश्वरप्रसाद कोइरालाको निधन भएको थियो ।

नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका विश्वेश्वर प्रसाद कोइरालाले नेपालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा नेतृत्व प्रदान गरे । जसको नेतृत्वमा विसं २००७ साल फागुन ७ गते नेपालबाट एकतन्त्रिय जहाँनिया राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय भयो । कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलन मात्रै होइन भारतको स्वतन्त्रता आन्दोलनमा लागेका कारण सन १९३० मा तीन महिना सम्म बेलायतले कोइरालालाई कैद पनि गर्यो । सन् १९४७ मा विराटनगरमा भएको मजदुर आन्दोलनलाई नेतृत्व गरेको अभियोगमा नेपालको राणा सरकारले एक बर्ष कैद गर्यो ।

लेखक श्याम आचार्य
लेखक श्याम आचार्य

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि तथा राणा शासन अन्त्यका लागि भएको आन्दोलनमा सैनिक संघर्ष गरे र २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मोहन सम्शेरको नेतृत्वमा गठन भएको सरकारका गृहमन्त्रि बने । २०१७ साल पुष १ गते वीपीको सरकार भंग गरी राजा महेन्द्रले वीपीलाई कैद गरे । ८ बर्षको कैद पछि वीपीलाई राजा महेन्द्रले भारतमा निर्वासनमा बस्न बाध्य बनाए । भारतमा निर्वासित जिवन बिताईरहेका विश्वेश्वर प्रसाद कोइरालाले भारतको विस्तारवादी नीति जसको कारण विलय तथा पूर्वी पाकिस्तान र पश्चिम भारतमा पाकिस्तानलाई टुक्र्याएर बंगलादेशको घोषणा जस्ता घटनालाई नजिकबाट नियालिरहेका कोइरालाले देशको अस्तित्व संकटमा परेको महसुस गरी २०३३ सालमा राजासंग घाँटी जोडिएको छ भन्दै मेलमिलापको नीतिसहित स्वदेश फर्किए । वीपीको स्वदेश आगमनबाट तर्सिएको पञ्चायती सरकारले वीपीलाई देशद्रोहको अभियोगमा कैद गर्यो । यसरी वीपीलाई देशद्रोहको अभियोग र मृत्युदण्डको सजाय समेत हुन सक्ने सम्भावनालाई देखेर वीपीको जीवन रक्षाका लागि नेपाल सरकारमा अन्तराष्ट्रिय दबाब भयो र उनलाई कैदबाट नजरबन्दमा राखियो ।

विसं २०३६ को आन्दोलनको समयमा वीपीलाई आफ्नै निवासमा नजरबन्द गरेर राखियो । २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरियो । २०३७ साल वैशाख २० गते जनमत संग्रहको परिणाममा बहुदल पक्ष पारजित भएपनि वीपीले उक्त परिणामलाई स्वीकार गरेका थिए । विश्वेश्वर प्रसाद कोइरालाले विभिन्न बिषयमा राखेका दृष्टिकोणहरुलाई यसरी अध्ययन गर्न सकिन्छ ः

क)राष्ट्रियता र राष्ट्रिय एकता – नेपाल देशको विसं १७९९ देखि १८७३ सम्म भएका एकीकरण अभियान सुगौली सन्धी संगै रोकियो । सुगौली सन्धी सम्ममा नेपाल देश बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरिरको ढाँचा आयो तर आत्मा आउन सकेन । राष्ट्रियताको प्रथम तत्व पनि जनता हो र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामुहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामुहिक रुपबाट समयमा आइपर्ने व्यापक समस्याहरुको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावनानै राष्ट्रियता हो । अझ अर्को शब्दमा राष्ट्रियता भन्नाले १ जनता, २ तिनको समस्या, ३ समस्या समाधान गर्ने दिशापट्टीको सामुहिक प्रयत्न, ४ सामुहिक प्रयत्नमा उत्पन्न एकताको भावनानै राष्ट्रियता हो । यसरी राष्ट्रियताको विचार गर्दा भुगोलको भुमिका गौण भएर जान्छ । राष्ट्रियता माटो होइन जनताको सामुहिक भावना हो । यहि राष्ट्रियता र प्रजातन्त्र अविभाज्य रहेको हुन्छ । राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उन्नत आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ । तसर्थ राष्ट्रियता प्रजातन्त्र र विकास एक अर्कामा आधारित हुन्छन् ।

राष्ट्रियताको मात्रै चर्चा गरिन्छ र प्रजातन्त्रको सम्बन्धमा मौन रहिन्छ भने अधिनायकवादको जन्म हुन्छ र यदी प्रजातन्त्रको मात्रै चर्चा गरिन्छ, राष्ट्रको रक्षाको कुरोलाई उपेक्षा गरिन्छ भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौं । राष्ट्रिय एकता भनेको राजनेताहरुको संयुक्त वक्तव्य होइन त्यसको आधार त्यस्ता संस्थाहरु हुन जसमा विभिन्न राष्ट्रिय तत्वहरु एकत्रित हुन सक्छन् र छलफल र निर्णयद्धारा राष्ट्रिय भावना सवल र कृयाशील बनाउन सक्छन् । यसर्थ प्रजातन्त्रमा मात्र राष्ट्रिय एकता सम्भव छ । राष्ट्रिय सहमति प्रजातन्त्रबाट मात्रै स्थापित हुन सक्छ । दुई जना मिलेर राष्ट्रिय सहमति हुन सक्दैन । राष्ट्रियताका लागि प्रजातन्त्र अनिवार्य शर्त हो । राजनीतिक अधिकार खोसिएको राष्ट्रियताका लागि जागरुक हुन सक्दैन त्यसैले राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छन् । राष्ट्रियता भनेको सबै जनता हौं । हाम्रो अधिकार खोसिएपछि राष्ट्र बलियो हुन सक्दैन । निर्धा , निमुखा, अधिकार नभएको , आफ्नो बुद्धिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रियताको निर्माण गर्न सक्दैनन् ।
प्रजातन्त्र ः प्रजातन्त्र भनेको बडो सन्तुलित, विरोधीहरुको कुरा सुन्ने विरोधीहरुले भनेको कुरा ठिक छ भने त्यो पनि मान्ने पद्धती हो ।

प्रजातान्त्रिक व्यवस्थामा अहिंसा, साधन र साध्य दुवै हुन् । प्रजातन्त्र अहिंसात्मक व्यवस्था हो । यदी तपाइँ आफ्नो निम्ति प्रजातन्त्र चाहनुहुन्छ भने अर्काको प्रजातान्त्रिक हकको निम्ति पनि सचेत रहनु पर्दछ । प्रजातन्त्रका लागि मुख्य ३ कुराहरु आवश्यक छ । १ नागरिकको मौलिक अधिकार, २ कानुनी राज्य ३ राज्यको शक्ति प्रयोगमा जनताको अधिकार । प्रजातन्त्रमा विरोधीलाई सैद्धान्तिक आधारमा जित्ने प्रयत्न गर्नुपर्छ उनीहरुको विश्वास प्राप्त गर्न प्रयत्न गर्नुपर्छ ।

समाजवाद ः समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुना हो । समाजवादका मुख्य २ वटा आधार रहेका हुन्छन १ राजनीतिकस्तरमा प्रजातन्त्र २ आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने विकास । यी दुई पक्ष बिना गरीबि उन्मुलन र राजनीतिक स्वतन्त्रता हुन्छ भन्नु असम्भव कुरा हो । समाजवाद केवल आदर्शको प्रश्न मात्रै होइन देशको विकास र जनताको गुणस्तरीय जीवनको आधार पनि हो । समाजवादको एउटा मुख्य लक्ष्य भनेको समानता हो । समानता भित्र र राजनीतिक र आर्थिक समानता पर्दछ ।

यसरी नेपाली कांग्रेसका आदर्शहरु राष्ट्रियता र राष्ट्रिय एकता, प्रजातन्त्र र समाजवादको स्पष्ट व्याख्या र दर्शन दिएर यस पार्टीलाई सधैं सधैं मार्गदर्शन गरिरहने महामानव विश्वेश्वर प्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आजको दिनमा उहाँले देखाएको मार्गमा हिंडिरहनुनै महामानव वीपीप्रति सच्चा सम्मान ठहरिनेछ । वीपीप्रति हार्दिक श्रद्धासुमन । जय नेपाल
( लेखक आचार्य नेपाली कांग्रेसका बैचारिक कार्यकर्ता हुन्)

Facebook Comments Box