(पार्थ मण्डल) भद्रपुर । कोरोना भाइरसको उच्च जोखिममा रहेको दक्षिणी झापाको कचनकवलमा फेरि भारतीय नागरिकले सीमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेको हो । भारतीय नागरिकले सशस्त्र प्रहरी हवल्दार शङ्कर चौधरीलाई कुटपिट गरेका छन् । कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा राखिएको छ । पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए । पारी भारतीय बस्ती गिलावारि पर्छ ।
त्यहाँका ५÷७ जना भारतीय नागरिक शुक्रवार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नु भनी सम्झाउन खोजेका थिए । किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगर्लौच गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए । सोही क्रममा दुवै पक्ष बिच सामान्य झडप भएपछि थप ५० देखि ६० जनाको भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा उनको हात र टाउकोमा चोट लागेको छ ।
‘भारतीय नागरिकले फेरि सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि तीन सय बढी नेपाली नागरिक प्रतिकार गर्न सीमामा पुगेका थियो,’ उनले भने, ‘हामी सीमा पुगेपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए । आज पनि सीमा ठुलो घटना हुन पाएन, घटना हुन बित्तिकै थप नेपाली सुरक्षाकर्मी घटनास्थल पुग्नुका साथै भारतीय एसएसबी पनि आइपुगेका थिए ।’ घटना पश्चात् नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधिसहितको दशगजामा बैठक बसी आइन्दा फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको वडा अध्यक्ष राजवंशीले बताए ।
यही जेठ ३ गते बेलुका पनि गाउँपालिका- १ घेरावारीस्थित १२५/१० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । भारतीय नागरिकले आक्रमण गरेपछि गाउँवासीसहित सशस्त्र प्रहरी प्रतिकार उत्रिएपछि उनीहरू भागे थिए । आक्रमणबाट बच्न सशस्त्र प्रहरी एक राउन्ड हवाई फायर समेत गरेका थिए । यसअघि पनि कचनकवलको घेरावारिको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन् । कचनकवलमा भारतबाट आएका ३३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले गाउँपालिका उच्च जोखिममा रहेको छ ।