झापामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिका –६ बनियानीका २३ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
भारतको बम्बैबाट दिल्ली हुँदै चार दिनअघि कचनकवल नाकाबाट आएर क्वारेन्टाईनमा रहेका व्यक्तिको बिराटनगरको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका उप प्रमुख जिवन चौलागाईले जानकारी दिनुभयो ।
भारतबाट आएर क्वारेन्टाईनमा रहेका ३३ जनाको स्वाब परिक्षण गरिएकोमा अहिले १० जनाको रिपोर्ट आएको र एकजनाको पोजेटिभ देखिएको उहाँले बताउनु भयो । बाँकी २३ जनाको पनि आजै रिपोर्ट आईसक्ने उप प्रमुख चौलागाईंले बताउनु भयो ।
संक्रमित व्यक्तिलाई नाकाबाट सिधै क्वारेन्टाईनमा लगेर राखिएकोले परिवार र समाजमा भने उनको सम्पर्क नभएको उहाँले जानकारी दिनुभयो । उनलाई अहिले कोरोना अस्पताल बिराटनगर पठाईएको छ ।
यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि झापाको दमक र बाह्रदशीमा एक÷एक जनामा कोरोना पोजिटिभ देखिएको थियो ।