(पार्थ मण्डल) भद्रपुर । भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरस्थित मेची नदीपारि नेपाली भूमिमा आवतजावतमा पूर्ण रूपमा बन्देज लगाइएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मेची किनारमा गठित सीमा सुरक्षा समितिसहित बुधबार बसेको सर्वपक्षीय बैठकले विभिन्न चारबुँदे निर्णय गर्दै मेची नदी प्रवेशमा पूर्ण रूपमा बन्देज लगाएको हो। नेपाल–भारतको सीमा नाका सरकारले बन्द गराएको छ।

तर भद्रपुरस्थित मेची नदी किनारमा लगाइएको खरबुजा खेतमा घाँस काट्ने, सागसब्जी टिप्ने र गाईबस्तु चराउन स्थानीयवासी आवतजावत गरिरहेका थिए। त्यही मौका छोपी स्थानीयले भारतबाट लुकिछिपी सरसामान नेपाल भित्राउन थालेको घटना बाहिरिएपछि सर्वपक्षीय बैठकले मेची नदी प्रवेशमा स्थानीयलाई रोक लगाउने निर्णय गरेको हो।

वडा प्रहरी कार्यालय भद्रपुरमा बसेको बैठकले भारतबाट नेपाल र नेपालबाट भारत लुकिछिपी जाने व्यक्तिबारे सम्बन्धित निकायलाई जानकारी गराउन, कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बेला बेला समीक्षात्मक छलफल गर्ने निर्णय गरिएको वडाका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए। बैठकमा भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका प्रहरी निरीक्षक केदारजंग थापा, वडाका प्रहरी निरीक्षक पुरी, सीमा निगरानी समितिका अध्यक्षद्वय लक्ष्मी सिंह राजपुत र दीपक राजवंशीलगायतको उपस्थिति थियो।

६ वटा बाछाबाछीसहित सूर्तीजन्य पदार्थ बरामद

सीमा सिल गरेको अवस्थामा पनि मेची नदीबाट तस्करी गतिविधि रोकिएको छैन। सीमा नाकामा सशस्त्र र नेपाल प्रहरी तैनाथ छन्। तर तस्कर समूहले मौका छोपी गाईबस्तु लाने र भारतबाट सरसामान भित्र्याइरहेकाछन्। सोही क्रममा भद्रपुर ५ स्थित देवीवस्ती नाकाबाट भारत लैजान तयारी अवस्थामा राखिएका पाँच वटा बाछा र एउटा बाछी सशस्त्र प्रहरीले बरामद गरेको छ।

स्थानीयले दिएको सूचनाका आधारमा सशस्त्र प्रहरीले बरामद गरी भद्रपुर भन्सार कार्यालय बुझाएको हो। त्यस्तै मेची नदीमा घाँस काट्न जाने स्थानीयले घाँसको बोराभित्र सूर्तीजन्य पदार्थ ल्याउने गरेको पनि फेला परेको छ। सीमामा तैनाथ सशस्त्रले घाँसको बोरा खोलेर चेकजाँच गर्दा ती वस्तु फेला परेको हो।

Facebook Comments Box