आजभोली अधिक मानिसहरुमा मेरुदण्डको नशा च्यापिएको तथा हाडजोर्नी दुखाईका समस्याहरु हुने गरेको छ ।

स्वास्थ्य सम्बन्धिका अनेकौ समस्याहरुका बीच स्पाइनल पेन मेरुदण्डको दुखाई निक्कै जटिल समस्याका रुपमा देखापरिरहेको छ ।

नेपालमा स्पाइन अर्थात मेरुदण्डको शल्यक्रिया विशेषज्ञ डाक्टरहरुबाटै गर्ने क्रम निक्कै पछि मात्रै शुरु भएको हो । त्यसअघि मेरुदण्डको उपचारका लागि भारतको पटना, सिलिगुढी लगायतका ठाउँमा पूर्व क्षेत्रका नेपालीहरु जाने गर्थे भने अन्य ठाउँका नेपालीहरु पनि भारतीय अस्पतालहरुमा नै पुग्नुपर्ने बाध्यता थियो । नेपालमै शुरु भएको शल्यक्रियाबाट मेरुदण्डको उपचार गर्ने विधीको शुरुवात गर्ने चिकित्सकहरु सिमित थिए ।

नेपालकै जेठो अस्पताल बिर अस्पतालको ट्रमा सेन्टरमा मेरुदण्डका बिरामीको  शल्यक्रिया गर्न शुरुवात गर्ने चिकित्सक तथा प्राविधिकहरुको टिममा रहेका चिकित्सक मध्येका एक हुन मेरुदण्ड विशेषज्ञ डा. गौरव ढकाल ।

प्रस्तुत छ दमकका स्थायीबासिन्दा युवा उमेरका डा. ढकालसँग निष्कर्ष न्यूजले उनका केही व्यक्तिगत र पेशागत बिषयमा केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश :-

चिकित्सा बिषयमा यहाँको अध्ययन कहिले र कहाँ कहाँ रहयो ?

मैंले शुरुमा स्कूल जान थालेको दमककै सिद्धार्थ बोर्डिङबाट हो । त्यसपछि भारतको खर्साङ, देहरादुनमा अध्ययनमा अध्ययन गरेको हुँ । एमबीबीएस सन २००४मा र एमएस २००९ मा गरेको हुँ । चिकित्सा बिषयको अध्ययन सिलसिलामा कलकता, जापान, अमेरिका र हंगेरीमा पनि गरें ।

तपाइँ दमककै मान्छे जतिबेला तपाइँले चिकित्सा बिषय रोज्नु भयो त्यति सहज पनि थिएन होला , कसरी यही बिषय रोज्नु भयो ?

हो त्यो बेला चिकित्सा बिषय पढने मात्रै होइन दमकमा कुनै अस्पतालहरुनै थिएनन । उपचारका लागि सिलिगुढी या त पटनातिर जानुपर्ने अवस्था थियो । एकपटक म सानो छँदै मेरो हजुरबुबाको ढाडमा पिलो आएको थियो । हजुरबुबाको उपचार यहीँ (दमक)कै एउटा क्लिनिकमा गरिएको थियो । पिलो भएको ठाउँमा यत्तिकै चिरिदिने काम भयो । यो देखेर मैंले आफैं एकदिन डाक्टर बन्ने संकल्प गरें । मैंले त्यो बारेमा अरुसँग कुनै कुरा गरिन ।

तपाइँलाई डक्टर पढने चाहना त जाग्यो, त्यो बेला वातावरण चाहिं कस्तो थियो ? पारिवारिक , घरायसी वातावरण अवस्था आदिको कुरा पनि त आउँथ्यो होला नि ?

मेरो फेमेली पुरै ननमेडिकल हो । तर पनि मैंले चिकित्सा क्षेत्रनै रोजें । म निरन्तर मेरो बाटोमा लागिरहें । त्यस्तो कुनै अप्ठयारो परेन । मेरो बुबा नेपाल चिया बिकास निगममा कार्यरत हुनुहुन्थ्यो । बुबाको जागिर पनि निगममा भएका कारण म नेपालको टोकला, सोक्तिम लगायतका चिया कम्पनीहरुमा धेरै लामो डुलघुम गरेको मान्छे हुँ ।

यो चिकित्सा बिषय अध्ययनका लागि गरिएको लगानी यो पेशाले उठाउँछ ?

व्यवसायिकताको कुरा गर्ने हो भने त त्यो सम्भव छैन । तर म चाहिं चिकित्सा क्षेत्रमा पैसा कमाउनका लागि आएको होइन र मैंले पैसालाई यो पेशामा कहिल्यै प्राथमिकतामा राखेको छैन ।

मेरुदण्ड सम्बन्धि समस्याको प्रारम्भिक लक्षण चाहिं के हुन ?

सामान्यतया स्पाइन ( मेरुदण्ड)को समस्या हुने मान्छेहरुको मांसपेशी दुखाईबाटै पनि थाहा हुन्छ । मुख्यगरी गर्धन र ढाडको दुखाइ भयो भने र हातखुट्टा झम्झमाउने भयो भने स्पाइन समस्या हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ । यदि त्यस किसिमको लक्षण महसुस भएमा वा कसैलाई पनि देखिएमा सम्बन्धित बिशेषज्ञ चिकित्सकसँग परामर्श लिएर उपचारमा लागिहाल्नु पर्छ ।

उपचार चाहिं कहाँ कसरी गरिन्छ ?

पहिले पहिले मेरुदण्डको नशा च्यापिएको समस्यालाई निक्कै गम्भिर समस्याका रुपमा लिइन्थ्यो र उपचारका लागि इण्डियानै जाने गरिन्थ्यो ।

अब इण्डियानै गइरहनु पर्दैन । प्रविधि र दक्षजनशक्तिको उपलब्धताले नेपालमै यसको सहज उपचार सम्भव भइराखेको छ ।

क्रमश विश्वास जित्दै जानुपर्छ । मेरुदण्डमा नशा च्यापिएका कारण हिंडडुल, उठबस गर्नै नसक्ने अवस्थामा पनि ८० प्रतिशतको चाहिं शल्यक्रिया बिनै मेरुदण्डको उपचार हुने गर्छ । बाँकी २० प्रतिशत चाहिं चिकित्सकहरुको सल्लाह अनुसार एमआरआई गरेर शल्यक्रियाका माध्यमबाट उपचार गरिन्छ । यो तुलनात्मक रुपमा अरुभन्दा खर्चिलो हुन्छ ।

हाम्रो जिवनशैली र रहनसहनका कारण मेरुदण्डको समस्या यति बढदो छ कि अब धेरै भन्दा धेरै नेपालीहरु यो समस्याबाट पीडित हुँदैछौं । यसको उपचारका लागि अहिले फिजियोथेरापीनै पहिलो र सहज माध्यम हो ।

फिजियोथेरापी गराउँदा थेरापिष्ट अर्थात बिषय विज्ञहरुबाट मात्रै गराउनु पर्छ । जथभावी घरायसी कामकाज गरिरहेकै छ नि भन्ने बुझा खर्चिलो हुने भएकाले अब यसको उपचारका लागि बीमा बोर्डले दिँदै आएको जुन एक लाखको सुविधा छ त्यसलाई बढाइनु पर्छ । मेरुदण्डको शल्यक्रिया पर्यो भने नागरिकले पाउने त्यो एक लाखको सुविधाले पुग्ने अवस्था छैन ।

Facebook Comments Box