दमक/ तत्कालिन अवस्थामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाका दुई अध्यक्षमध्ये महन्थ ठाकुर एमाले अध्यक्ष केपी ओलीसँग निकट हुँदै जाँदा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीका कट्टर विरोधी थिए ।
तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटनको कदमलाई ठाकुर पक्षले नरम रुपमा लिएको थियो यादव पक्ष कडा विरोधमा थियो ।
वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ठाकुर पक्ष ओली सरकारमा सहभागी भएपछि जसपाभित्रको अन्तर्विरोध झनै चर्कियो । यादवले ‘ओलीले विदेशीको इशारामा जसपाभित्र फुट सिर्जना गरेको’सम्म भन्न चुकेनन ।
हेक्का रहोस्, २०७८ जेठ ४ गते अध्यक्षद्वय ठाकुर र यादवबीच राष्ट्रिय सहमतिको सरकार या आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा बाहेक प्रतिपक्षमै बस्ने सहमति भएको थियो । अर्थात ओली सरकारमा कुनै हालतमा जान नहुने यादवको दृढ अडान थियो ।

ठाकुर पक्ष सरकारमा सहभागी भएपछि यादवले देशमा स्पष्ट दुई कित्ता छुट्टिएको समेत भन्न भ्याए । उनले मधेशमा आयोजित एक कार्यक्रममा त्यो बेला भनेका थिए, ‘अहिले देशमा लोकतन्त्र, धर्म निरपेक्षता, समावेशीता र संघीयताको पक्षमा अग्रगामी कित्ता छ ।

अर्कोतिर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई समाप्त पार्ने र अन्ततः यो संविधानलाई नै समाप्त पारेर मुलुकलाई पछाडि धकेल्ने कित्ता छ । अहिले यी नै दुइटा चिन्तन, दुइटा शक्ति र सोचबीचको संघर्ष चलिरहेको छ । हामी अग्रगामी कित्तामा छौं ।’

जब ठाकुर पक्ष ओली सरकारमा सहभागी भयो, त्यसबेला यादवले ठाकुर पक्षलाई पनि ओलीको प्रतिगामी कित्तामा लागेको आरोप लगाएका थिए ।

उनले भनेका थिए ‘राजेन्द्र महतो र महन्थ ठाकुर नै हैन, जसले ओली ठग हो, प्रतिगामी हो भन्दै भाषण गर्दै हिँडेको । अस्तिसम्म लोकतन्त्र समाप्त पार्ने मधेशविरोधी शक्ति हो भन्दै उहाँहरु भन्दै हुनुहुन्थ्यो । अचानक आन्दोलन र संघर्षको बाटोबाट फर्किएर उहाँहरु कसरी ओलीको क्याम्पमा जानु भो रु यो नै रहस्यको विषय छ अहिले ।

यादवले ठाकुर पक्ष हाल लोकतान्त्रिक समाजवादी पार्टीमाथि अघि सारेको यही प्रश्नको भाला यतिखेर यादवतर्फ फर्किएको छ ।

सत्ता गठबन्धन त्यागेर एमालेसँग चुनावी तालमेल गरिरहेका यादवसँग सप्तरी–२ का मतदाता प्रश्न गरिरहेका छन्, ‘अस्तिसम्म ओली मधेशविरोधी हो, स्वेच्छाचारी हो भन्ने तपाई, अहिले किन तिनै ओलीसँग साँठगाँठ गर्दै हुनुहुन्छ रु’

बालुवाटारबाट  बालकोट

यो २०७९ असोज २० को घटना हो । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको थियो । सत्ता गठबन्धनले चुनावी तालमेलका क्रममा जसपालाई १६ सिट मात्र दिने भयो ।

मधेशमा अझै पनि जसपालाई नै ठूलो पार्टी दाबी गर्दै आएका यादवले १६ सिटमा चित्त बुझाएनन। अनि त सत्ता गठबन्धनको बैठक बहिष्कार गर्दै उनी अघिल्लो दिनसम्म आफैले ‘प्रतिगामी राजावादी’ भन्दै सत्तोसराप गर्दै आएका केपी ओलीलाई भेट्न बालकोट पुगे ।
बालुवाटारबाट एकाएक बालकोट पुगेर मध्यरातमा ओलीसँग गठबन्धन पनि कायम गरिहाले । यादवको रवैया उनकै पार्टीका प्रभु शाहलाई मन परेन । उनले तत्काल विद्रोह गरिहाले ।

आखिर किन शाह यादवप्रति खनिए त रु शाहका शब्दमा व्यक्तिगत फाइदाका लागि उपेन्द्रले साम्प्रदायिक विष घोले, नेपालीबीचको एकता खलबल्याउन खोजे, जाती जातीमा फुट ल्याउने काम गरे ।
‘गौर हत्याकान्डका पीडितहरू अझै न्यायको पखाईमा छन्। । गौर हत्याकान्डका हत्याराहरुलाई दण्डित गर्नुको साटो उसैलाई बोकेर उसैलाई भोट देऊ भनेर हिँड्न मेरो नैतिकताले दिएन’, शाहले भनेका छन ।

शाहका शब्दमा उपेन्द्र यादवले हिजोसम्म ‘केपी ओली भनेका प्रतिगामी हुन, मधेश विरोधी हुन, यिनीसँग सहकार्य गर्न सकिन्न’ भन्दै आएका थिए ।

‘अहिले आएर कुर्सीका लागि जे पनि गर्ने रु त्यही मधेशवादी दल हैन, जसले पहाडी गाउँलाई उजाड बनाएको रु पहाडी मधेशी मिश्रित गाउँहरु अहिले उजाड छन । गौर हत्याकाण्डमा दण्डित हुनुपर्नेलाई मैले बोक्नुपर्ने रु’, शाहको प्रश्न छ ।

२०६३ चैत्र ७ गते भएको गौर हत्याकान्ड यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाटै भएको थियो । २७ जनाको क्रूर हत्या भएको त्यो घटना तत्कालीन नेकपा ९माओवादी० र मधेशी जनअधिकार फोरमबीच एउटै स्थानमा कार्यक्रम गर्ने लफडाबाट सिर्जित भएको थियो ।

एमालेले सो घटनाको चर्को निन्दा गरेको थियो । एमाले अध्यक्ष ओलीसँग अति निकट मानिने अनौपचारीक क्षेत्र सेवा केन्द्र ९इनसेक०का तत्कालीन अध्यक्ष सुवोधराज प्याकुरेलले स्थलगत अध्ययन भ्रमणपछि तयार पारेको प्रतिवेदनमा गौर हत्याकाण्डलाई पाशविक संज्ञा दिएका थिए ।

पद र सत्ताका लागि जे पनि हुँदो रहेछ । गौर नरसंहारलाई पाशविक बताउने त्यही ओली कित्ता अहिले यादवसँग कुम मिलाइरहेको छ भने ओलीलाई प्रतिगामी भनेर नथाक्ने यादव चाहिँ एमालेकै वैशाखी टेकेर चुनावी बैतरणी तर्ने दाउ हेरिरहेका छन ।

गौर नरसंहार र विगतमा ओलीको कटु आलोचना गरेकाले चुनावी गठबन्धन भए पनि यादवलाई एमाले गणले मत हाल्नेमा शंका उत्पन्न भएको छ ।
विगतमा ओलीको व्यापक आलोचना गर्ने उम्मेदवार भएकाले यादवको बाकसमा एमाले समर्थक मतदाताको मत ‘ट्रान्सफर’ नहुने सम्भावना बढेको छ ।

यादवसँग यतिखेर दुवै कित्ता रुष्ट छ । ओलीको चर्को विरोध गरेको र गौर नरसंहारको काण्ड रचाएको भन्दै एमालेको ठूलो तप्का उनलाई भोट हाल्न इच्छुक देखिँदैन ।

अर्कोतिर ‘प्रतिगामी ओलीसँग साँठगाँठ गरेको’ भन्दै जसपाकै संघीयता, धर्म निरपेक्षता र गणतन्त्र पक्षधर अग्रगामी कित्ता पनि उनीसँग असन्तुष्ट देखिन्छ । केही नेता कार्यकर्ताले त जसपा त्यागीसकेका पनि छन ।

एमालेको मत पर्याप्त मात्रामा ‘ट्रान्सफर’ नहुने, जसपाभित्रकै असन्तुष्ट कार्यकर्ताले असहयोग गर्ने परिस्थितिले यादव झन् झन् सँकटमा फस्दै गएका छन्। ।

सत्ता गठबन्धनको ‘सेफ जोन’ छाडेर एमालेसँग तालमेल गर्न पुग्दा यादव चुनाव नजिकिँदै जाँदा झन् झन् ‘रेड जोन’मा धकेलिएका छन् र उनमा चिन्ता बढ्दैछ ।

अहिले मधेशमा संघीय समाजवादी फोरम हुँदाताकाको जस्तो मदेशवादी शक्तिहरूको वर्चस्व देखिँदैन । मधेश प्रदेशमा गत स्थानीय निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो स्थान क्रमशः काँग्रेस, एमाले र माओवादी केन्द्रले ल्याएको कटु यथार्थबिच यादवलाई मधेशको शक्तिकै भरमा चुनाव जित्न सहज छैन ।

मधेशमा भएको पछिल्लो विद्रोहका एक नायक डा। सिके राउत र सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरसँग भिड्नु उनका लागि फलामका च्युरा चपाए सरह भएको छ ।

एमालेको भरमा पर्दा यादव अभरमा पर्ने हुन् कि भन्ने खतरा बढेको छ । एमालेको मत ‘ट्रान्सफर’ नभएको खण्डमा यादव सकसमा पर्न सक्छन ।

केही महिनाअघिसम्म शत्रुतापूर्ण र कटु सम्बन्ध रहेका एमाले र जसपाबीच क्षणभरमै सुमधुर सम्बन्ध विकास हुने कुरा पनि आएन । त्यसमाथि उपेन्द्रको अस्थिर स्वभाव देखेका ओलीलाई भोलि जसपासँग सत्ता समीकरणमा सँगै जान सकिने विश्वास पनि छैन ।

अतः आफ्नो थैली कस्ने, अरूको फुके फुकोस् भन्ने रणनीति बनाइरहेको एमालेले यादवलाई धोका नदेला भन्ने पनि ग्यारेन्टी छैन ।

सधैं पदको भोका

मधेश आन्दोलन, लोकतन्त्र र अग्रगमनजस्ता शब्द यादवका लागि मौखिक शब्द जाल मात्र हुन । खासमा सत्तामा जान पाएपछि जे पनि गर्न पछि नपर्ने उनी मधेश विद्रोह उचाइमा पुगेको बेला आन्दोलन शिथिल पार्दै सत्ता राजनीतिमा होमिएका थिए ।

मधेश विद्रोहका त्यसबेलाका कमाण्डर थिए, वीरगञ्जका भाग्यनाथ गुप्ता । भाग्यनाथले आन्दोलन चर्काइरहेको बेला उनलाई पनि सुईको नदिई यादव तत्कालीन गिरिजाप्रसाद कोइरालासँग सम्झौता गर्न पुगेका थिए ।
आन्दोलनलाई सम्झौतामा लगेर तुहाएपछि भाग्यनाथ गुप्ता र कुमार विश्वासलगायतका नेताले उनलाई छाडे, ठिक त्यसैगरी जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवहरुले छाडेका थिए ।

यादवकै हुकुमी शैलीबाट आजित भएर ठूलो मधेशवादी दलबाट धमाधम एक से एक हस्तीहरु अलग हुन थाले।विजय गच्छदार पनि उनीबाट अलग भएर तराई मधेश लोकतान्त्रिक पार्र्टी खोले ।

केही समयपछि जयप्रकाश प्रसाद गुप्ता र राजकिशोर यादवहरु पनि अलग भए । आन्दोलनमा भन्दा यादव सत्ताको खेलमै रमाएकाले मधेशका एजेन्डा र मागहरु अझै पुरा हुन नसकेको गुनासो व्यापक छ । अझ, मधेशविरोधी, संविधानमा मधेशका माग सम्बोधन गर्न नमान्ने र नागरिकता विधेयकविरोधी कित्तासँग मिल्न गएकाले यादवमाथि मदेशवादी कित्ता रुष्ट देखिन्छ ।

 

Facebook Comments Box