हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
प्रस्तुत हरफहरु कवि भुपि शेरचनको शहीद शीर्षकको कविताबाट लिइएका हुन । देश बनाउनका लागि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आधुनिक नेपालको बिकासमा २००७ साल अघि राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि प्रमुख चार शहिदहरु शुक्रराज शास्त्री, दशरथचन्द ठाकुर, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमाको स्मरण गर्दै हरेक बर्ष माघ १६ अर्थात आजको दिनलाई शहिद दिवसका रुपमा मनाउने गरिन्छ । तिनै शहिदहरुको योगदान र बलिदानीलाई स्मरण गराउने ऐतिहासिक यस शहिद दिवसलाई पछिल्ला बर्षहरुमा शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिएको छ । प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा चार शहिदहरुको हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाइने गरिएको हो । हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ ।
शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो ।
मुलुकमा परिवर्तन ल्याउनका लागि र देश जनतामा आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सहिदका परिवार अनि घरहरू लगायत सहिद परिवारका सदस्यहरूको अवस्था दूर दराजमा कस्तो रहेको छ ?
नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहीदहरूको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बालिकालागि सहिदहरूले बलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत २०३६ सालको जनमत सङ्ग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूर्नस्थापना, २०५२ मा गणतन्त्र स्थापनाका लागि तत्कालिन विद्रोही नेकपा माओवादीले शुरु गरेको सशस्त्र युद्ध र त्यसैको जगमा २०६२÷०६३ मा भएको जनआन्दोलनका क्रममा धेरै ज्ञात अज्ञात सहिदको सूची छ । त्यस्तै अझै धेरै नेपालीहरू बेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी धेरैले अनाहकमा ज्यान गुमाउनु परेको घटना पनि उत्तिकै छन ।
विद्यार्थी, महिला, मजदुरहरूको सक्रिय सहभागितामा भएका आन्दोलनहरुले मुलुकमा राजनीतिक व्यवस्था र केही हद सम्म सामाजिक अवस्थामा परिवर्तन ल्याएको छ । तर परिवर्तन निरन्तर चलिरहने प्रकृया हो, जनअपेक्षा असिमित हुने हुँदा हर समयमा भएका आन्दोलनहरुको आआफनै महत्व छ । ति महत्वपूर्ण आन्दोलनहरुमा वीरगति प्राप्त गर्ने सबै शहीदहरुप्रति शब्द श्रद्धाञ्जली ।