विष्णु पौडेल
नेपाली कांग्रेस यतिबेला अधिवेशनको महासंग्राममा छ । केन्द्रीय महाधिवेशन आउन दुई हप्ता समय बाँकी रहँदा कांग्रेस भित्रको अधिवेशन विशेष हाँस्य व्यङयको श्रृखंला भाग ४ सकिइसकेका छन । वडा देखि जिल्ला तह सम्म आइपुग्दा ४ वटा श्रृखंला सकिएर अहिले पाँचौ श्रृखंला प्रदेश अधिवेशन नाममा प्रवेश गरेको छ ।
महाधिवेशनको मूल नारा उत्साह, एकता र रुपान्तरण भनिएको छ । यो नारा यदा कदा सामाजिक सञ्जाल सञ्चार माध्यमहरु र केही बैचारिक , तार्किक गुण क्षमता भएका नेताहरुको मुखबाट बेला बेला सुन्न सकिन्छ ।
अहिले सम्म भएका चार तह वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र , संघीय निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशन हेर्दा कर्मकाण्ड पूरा गर्ने अधिवेशन मात्रै भएका छन । विशेषत प्रदेश एक र यस अन्तर्गतको झापा जिल्लाको अवस्था हो यो । उसो त झापा जिल्ला कांग्रेसका प्रभावशाली नेता मानिएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला पनि हो । यहाँ अपवाद बाहेक अधिवेशनका लागि तय गरिएका नारा केवल औपचारिकतामा सिमित छन । ति नारा लेखिएका ब्यानर, ति बिषयमाथि विचार विमर्शको कुरा छोडौं अधिवेशन नै गरिएनन । अधिवेशन भन्ने वित्तिकै त्यहाँ पार्टी गतिबिधिको समिक्षा, योजना र भावी रणनीतिहरु आदी बिषयमा प्रशस्त बहस र चर्चा हुनुपर्ने निकाय हो । तर बिडम्बना अहिले सम्म कुनै पनि तहका अधिवेशनको न त उदघाटन भयो, न बहस , छलफल नै भयो न पार्टी संगठनका बिषयमा समिक्षानै भयो न त भावी रणनीतिहरु नै तय गरिए । केवल चिया पसल, रक्सी पिउने होटल , चोक , बजारमा एक अर्काको चियो चर्चा, गुटगत समुह , घात अन्तर्घातको बहसमा नेता कार्यकर्ताहरु पूरै रुमल्लिए । सबैले भने – नेता बिग्रिए । नेता त बिग्रिए नै नेता बनाउनेहरु पनि बिग्रिए । सबैभन्दा महत्वपूर्ण मानिएको पार्टीका क्रियाशील सदस्यहरुलाई बन्धक बनाएर धेरै जसो ठाउँमा निश्चित समुहका मानिसहरु बसेर आफू आफूलाई भाग पुग्ने गरी नेता चुने । त्यसरी भाग नमिलेका ठाउँमा चुनावको अभ्यास गरे । त्यही चुनावमा पनि एकातिर टिम बनाए अर्का तिर निर्देशन गरे । यो विकृतपूर्ण संस्कारको बिकास १४ औं अधिवेशनमा जताततै देखियो । भोट र नोटको चर्चा बराबर भयो । पद पाउनेले मात्रै होइन केही नपाउनेले पनि चुनाव खर्च राम्र्रै अंकमा गरेको चर्चा व्याप्त छ । कांग्रेसलाई बिगार्न यि चर्चा भएको हो वा कांग्रेसका मान्छे बिग्रिएर यस्तो चर्चा भएको हो ? यि बिषयलाई एकातिर राखौं र नेतृत्व चयनमा भएका थप रोचक अभ्यासहरुका बारेमा चर्चा गरौं ।
झापा जिल्ला नेता सिटौलाको पूर्ण प्रभाव भएको जिल्ला मान्नेहरु छन कांग्रेसमा । यो स्वभाविक पनि हो । शिर्ष तहको नेताको गृह जिल्लामा उनको प्रभाव हुनु नाजायज होइन तर त्यो प्रभाव पार्टी विधि, विधानको खिल्ली उडाउने हर्कतको साक्षी त्यतिका नेताले बन्न मिल्छ कि मिल्दैन ? जिल्ला समितिमा आफनो पूरा पकड अर्थात कब्जा हुँदा पार्टी र भातृ संगठनका क्षमतावान र साँचो अर्थमा निष्ठावान, इमान्दार कार्यकर्तामाथि अन्यायको फेहरिस्त छ । भातृ संगठनमा होस कि शुभेच्छुक संस्थाहरुमा सिटौला पक्षको दबदबाले पार्टीलाई बलियो बनायो कि कमजोर ? स्वयं सिटौला गुट झापामा कमजोर बन्दै गएको तथ्य १४ औं जिल्ला अधिवेशनमा भएको निर्वाचनको परिणामले पनि देखाएको छ । सिटौलाको आफनै क्षेत्र झापा ३ मा बाहेक जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा सिटौला समर्थकहरुले पाएको मतलाई एक ठाउँमा राख्ने हो भने र विश्वप्रकाश शर्मा समर्थक समुहका उम्मेदवारले पाएको मतलाई राखेर तुलना गर्ने हो भने शर्मा पक्षनै बलियो देखिनु जिल्लाको राजनीतिमा कांग्रेसको सिटौला गुटको गिर्दो अवस्थाका रुपमा बुझ्न गाह्रो छैन । शर्मा र सिटौला पक्षधर प्रदेश अधिवेशनमा पुग्दा एकै ठाउँ भएका छन । जिल्लामा उनीहरुको प्रतिस्पर्धा केही सक्षम, सवल र निष्ठावान नेता कार्यकर्ताहरुको भावनामा ठेस पुरयाउनका लागि मात्रै भएको देखिन्छ । क्षेत्रीय निर्वाचन परिणाम अनुसार महाधिवेशन प्रतिनिधि चुनिएका दुवै पक्षका नेताहरु अब केन्द्रमा सिटौला शेर बहादुर देउवाको क्याम्पमा छिरिसके पछि एकै ठाउँ हुने निश्चित देखिन्छ । यसबाट कार्यकर्ताहरु, शुभेच्छुकहरुले के बुझने ? सिटौला पक्षधरहरुले झापामा निर्वाचनको दौरानमा कार्यकर्ताहरुमाझ गरेको परिवर्तन पक्षधरको दाबी कता हरायो ? कि बाल बच्चाको भाँडाकुँटी खेल जस्तै हो राजनीति ?