स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थातः नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वका साथ हेर्दछन् ।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । तराईदेखि पहाडसम्म पाइने कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो ।
यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो । आज औँशी अर्थात चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्रयाइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठी कुशलाई विकीरणमाँझमा राख्दा कुशले सम्पूर्ण विकीरण आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहाीिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्काे पिढीले हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औँलामा कुशलाई आँंैठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकीरणहरू निस्तेज गर्ने जनविश्वास छ ।
आजैको दिनलाई बुबाको मुख हेर्ने विशेष दिनका रुपमा पनि लिइन्छ । छोराछोरीहरुले बुबाको सुस्वास्थ्यको कामना गर्दै विभिन्न मिष्ठान्न भोजन गराउने, नयाँ बस्त्र पहिराउने आदि गर्ने गर्छन । यस दिनलाई चेलीहरुले माइती घर जाने दिनका रुपमा लिँदै तीजको रौनक समेत शुरु हुने विशेष दिनको रुपमा समेत लिन्छन ।