विष्णु पौडेल
दमक/झापा दमक ४ अर्नाखाडीकी १७ बर्षिया पुनम भुजेललाई झट्ट हेर्दा कसैले शारिरिक अशक्तताको अनुमान लगाउनै सक्दैन ।
बाहिर देखिने खालको कुनै समस्या छैन । तर उनलाई झट्ट देख्दा जति सहज देखिन्छिन जीवन भोगाई उत्तिकै संघर्षपूर्ण छ । गाउँकै सरकारी स्कूलमा पढुञ्जेल सम्म उनी आफैं हिंडेर स्कूल जान्थिन । ८ बर्षको उमेर हुँदा सम्म उनको शरिरमा कुनै अशक्तता छदै थिएन । कुनै घटना दुर्घटनामा परेकी पनि होइनन । तर जब ८ /९ बर्षकी भइन त्यसयता एक्कासी हिंडन मुस्किलले मात्रै सक्ने ।

हिंडदा हिंडदै थुचुक्क बस्ने गरेको आमा बुबाले देख्न थाले । यो देखेर उनीहरुलाई मनमा झस्का नपसेको पनि होइन । छोरीलाई के भो होला ? के कारण हिंडन सक्दिन ? यि जिज्ञासा आमा बुबाको मानसपटलमा घुमिरहे । तर बिडम्बना पुनमका बुबा पूर्ण बहादुर र आमा तारा भुजेलको आर्थिक अवस्था केही गर्न सक्ने हैसियतको थिएन । अथा ऐयया केही भन्दिन थिइ, यतिकै के भने कसो भयो होला भनियो , अलि दिनमा ठिक होला छोरी हिंडछे होला भन्ने पनि भयो, हाम्रो अवस्था पनि त्यस्तै उत्तिबेलै राम्रो डाक्टर/ अस्पताल कतै जान पनि सकिएन – बुबा पूर्ण बहादुरले भने । भुजेलले भने – पहिले पहिलो छोरीले गाउँ घरमा बिउ काढने, मज्जाले घरको काम सघाउने गर्थी पछि हेर्दा हेर्दै हिडन नसक्ने भइ । पछि पछि त उपचारका लागि वनेपा, काठमाडौं सम्म लगियो यतै बसेरै उपचार गर्नुपर्छ भने हाम्रो आर्थिक अवस्था त्यो थिएन फर्काएर घर ल्यायौं – आर्थिक विपन्नताकै कारण छोरीले समयमा उपचार नपाउँदा शारिरिक अपाङगता ब्यहोर्नुपरेको दुखद कहानी सुनाइन आमा ताराले ।
कष्टसाथ पढाईलाई निरन्तरता, अब के गर्ने भन्ने चिन्ता
सबैका छोराछोरी सानो छँदा स्कूल पुरयाउनु पथ्र्यो , पुनमलाई चाहिं जति ठुली हुँदै गइन उत्ति बुबाको सहारा बिना पढन जानै नसक्ने अवस्था आई लागेको हो । कक्षा ५ सम्म स्थानीय जनचेतना प्राविमा अध्ययन गरेकी पुनमले लगभग ४ कक्षा सम्म आफैं हिडेर स्कूल धाइन । त्यसपछि कृष्णमन्दिरमा रहेको कृष्ण निमाविमा कक्षा ८ सम्म पढिन । उनलाई कृष्ण निमावि सम्म जान आउन जहिल्यै बाबु पूर्ण बहादुरले सहारा गर्नुपर्यो । पूर्ण बहादुरले एउटा थोत्रो साइकलमा डोहोरयाएर स्कूल पुरयाए । एक दिन होइन, दुई दिन होइन । कृष्ण निमाविमा गएदेखि अहिले भर्खरै दमक बहुमुखीमा कक्षा १२ को परीक्षा दिँदा सम्म पुनम र उनको परिवारले भोग्नुपरेको दुख, कष्ट कहेर साध्य छैन । ६/७ बर्षदेखि पुनमलाई दिनहुँ बुबा पूर्ण बहादुरले साइकलमा राखेर स्कूल / कलेज ल्याउने लैजाने गरेका छन । त्यति मात्रै होइन पुनमले पढने स्कूल कलेजमा बस्नेदेखि उनले प्रयोग गर्ने शौचालय समेत अपाङग मैत्री थिएनन ।
अहिले पनि छैनन । सहज तरिकाले बस्न, उठन र हिंडडुल गर्न नसक्ने कठिन अवस्थाकै कारण पुनमले जतिसुकै तिर्खाए पनि स्कूल कलेज जानु एक÷आधा घण्टा अघिदेखिनै पानी समेत पिउन बन्द गर्नुपर्यो । किन त ? पुनमकी आमा तारा भन्छिन– पानी खायो भने पिसाब लाग्छ भनेर पानी नपिइकन स्कूल कलेज जान्थि । यस्तै कष्टका बाबजुद उनले एसइइ परीक्षामा बी ग्रेड ल्याइन । पाणिनी माविबाट एसइइ दिएकी थिइन उनले । अहिले कक्षा १२ को नतिजको पर्खाइमा रहेकी पुनमले भनिन– एक्जाम त राम्रै भएको छ हेरौं के हुन्छ रिजल्ट आएको छैन । प्लस टु सम्मको अध्ययन सकेकी उनलाई अब स्नातक तह कहाँ कसरी पढ्ने भन्ने पिरलो पनि कम छैन । कक्षा ११ र १२ मा उनले छात्रवृत्ति कोटामा अध्ययन गरेकी हुन । त्यसका लागि दमक नगर उपप्रमुख गीता अधिकारीले प्रत्यक्षरुपमा नै चासो लिएर व्यवस्थापन गरिदिएको स्मरण गर्छिन आमा तारा । अहिले सम्म त गीता म्याडमको सहयोगमा पढेकी थिई अब पो कसरी कहाँ पढाउने हामीलाई ठुलो चिन्ता छ ।

आमाका हात बाङिग, बुबा बृद्ध भए
त्यसो त पुनमकी आमा तारा पनि शारिरिक रुपमा एकाएक अशक्त भइराखेकी छिन । पहिला सग्ला थिए उनका हात । तर केही बर्ष यता उनका दुवै हात आशिंक मात्रै चल्ने किसिमका बाङगा र लुला भएका छन । दुख्ने, पोल्ने केही समस्या छैन तर हात एकाएक बाङगा भएका छन । पुनमका बुबा ( ताराका पति) पूर्ण बहादुर उमेरले ६२ बर्ष पुगेका छन । बुढेसकालको सहारा भनेकै सन्ता हुन । एक अर्काका सहारा पति पत्नी । तर आफनो उमेर ढल्किदै जाँदा उमेरले जवान हुँदै गरेकी छोरी हिडडुल गर्न सक्दिनन । ६/७ बर्षदेखि ओछयान परे सरह छ, पत्नीका पनि हातल काम गर्न छोडे । दैनिक आयस्रोत केही छैन । सरकारले छोरीलाई अशक्तताका कारण दिदैं आएको भत्तानै त्यो परिवारको एक मात्रै आय स्रोत हो । यसबाहेक छरछिमेकमा ज्यालादारी गरेर खेती किसानी काममा सघाएर आएको पैसालेनै छाक टार्नुपर्ने यो परिवारको बाध्यता छ । भुजेल परिवार र पुनमको शैक्षिक तथा उपचार सहायतामा सहयोग गर्न चाहने जो कोहीले मोबाइल नं ९८१७३२६४४९ मा सम्पर्क गर्न सकिने तथा सानिमा बैंकमा पुनम भुजेलको नाममा रहेको खाता नं ००२००००२४६९० एममा सहयोग रकम प्रदान गर्न सकिनेछ ।