विन्दु सिटौला लक्की दमकको व्यवसायिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो । दशक अघिदेखि यहाँ रहेर फर्निसिङ तथा इन्टेरियर डेकोरेशनको व्यवसायमा निरन्तर सक्रिय दमक ५ निवासी सिटौला दमकमा सफल लगानीकर्ताको पहिचान बनाएकी उद्यमी महिला पनि हुन । फर्निचर व्यवसायी संघ दमकको उपाध्यक्ष सिटौला दमक उद्योग वाणिज्य संघको कार्य समिति सदस्य र लायन्स क्लब अफ दमकमा समेत सक्रिय छिन । आफनो निजी व्यवसायसंगै उनी सामाजिक संघ संस्थाहरुमा पनि जिम्मेवारी निर्वाह गरिआएकी छिन । प्रस्तुत छ सिटौलासंग व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रियताका बिषयमा गरिएको कुराकानीको निष्कर्ष

यो व्यवसायमा कसरी आउनु भयो ?
लगभग पहिल्यैदेखिको पेशा हो । ०६३ सालदेखिनै लक्की ट्रेड एण्ड सप्लायर्स सञ्चालन गरेकी थिएँ । विस्तारै यसलाई लक्की इन्टेरियर डेकोरेशन पनि जोडिएको हो । त्यसो त यो व्यवसायसंगै साइटमा अन्य व्यवसायमा पनि मेरो धेर थोर संलग्नता छ ।
अन्य व्यवसाय भन्नु भयो के हुन ति ? यो व्यवसाय चाहिं कस्तो हो ?
पहिला अचार बनाउने उद्योग पनि सञ्चालन गरियो । लक्की कृषि प्रणाली मार्फत व्यवसायिक कुखुरापालन शुरु गरेको थिएँ । तर विडम्बना ति व्यवसायहरुलाई विविध कारणले निरन्तरता दिन सकिएन । इन्टेरियर व्यवसायलाई भने निरन्तरता दिन सकिएको छ र मैंले यही व्यवसायलाई आफनो प्रमुख व्यवसायका रुपमा अघि बढाएकी छु ।
हामी कच्चा पदार्थहरुको प्रयोग गरी फर्निचर सामग्रीको उत्पादनसंगै साज सजावटका सामग्रीहरु साथै डेकोरेशनको काम पनि गरिरहेका छौं । अफिस तथा अहिलेको आधुनिक युगमा घरायसी प्रयोजनमा समेत हाम्रा उत्पादनहरु उपयोगी बन्ने गरेका छन । यससंगै मेरो समेत संलग्नतामा दमकका युवा व्यवसायीहरुको एउटा समुहले दमकमा नै नयाँ आधुनिक किसिमका विश्व बजारमा चल्तीमा रहेको इँटा , टाली, होल ग्रीप आदिको उत्पादन गर्दैछौं । इको नेपाल इन्फास्ट्रक्चर नामक उद्योगले यो काम गरिरहेको छ । हामी एक महिना भित्रै उत्पादन शुरु गर्दैछौं । हाम्रोमा उत्पादन हुने इँटाको आयु ६० बर्षको हुने प्राविधिकहरुले ग्यारेन्टी गरेका छन । हामी त्यही ग्यारेन्टीसहित हाम्रो उत्पादन बजारमा लैजाँदै छौं ।
योसंगै आम व्यवसायिक क्षेत्रका समस्या के देख्नु हुन्छ ?
पहिलो त हाम्रो व्यवसाय कच्चा पदार्थहरुको आयात गरि यहाँ उत्पादन गर्ने उत्पादनमुलक उद्योग हो । यसमा आवश्यक सबै सामग्रीहरु भारत , चाइना लगायतका बाह्य मुलुकहरुबाट आयात गर्नुपर्ने हुन्छ । हामी आयातित बजारमा निर्भर छौं । अर्को शब्दमा भन्दा हामी परनिर्भर छौं । हामीले चाहेको समयमा चाहेको मेटेरियल्सहरु यहाँ सम्म ल्याउन अनेकौं बाधा अडचनहरु ब्यहोर्नु परिरहेको छ । एलसीको समस्या छ । भन्सार दरदेखि खरिद मुल्यमा नै भारी बृद्धि हुने गर्छ । ६ महिना अघि र ६ महिना यताको मुल्यमा नै ठुलो अन्तर छ । यसले सामग्रीहरुको मुल्यमा पनि फरक पर्ने अवस्था आएको छ । हामी मात्रै होइन समग्र उद्योगी तथा होलसेल व्यवसायीहरुले भोग्नु परिरहेको अर्को समस्या भनेको दक्ष कामदारको अभाव हो । हामी दक्ष कामदारको अभावमा आफनो उत्पादनहरु बजारमा लैजाने ग्यारेन्टी गर्न सकिरहेका छैनौं । रोजगारको खोजीमा रहेको युवा पुस्ता केही समय काम गर्ने र २/४ महिनामानै काम छोडेर विदेश पलायन हुने समस्याले हाम्रो लगानीनै अर्थहिन हुने गरेको छ ।
व्यवसायसंगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
सबै कुरा सिस्टममा चलेपछि आफैं सहज हुन्छ । भनिन्छ नि व्यस्त हुँदा कुनै समस्या हुँदैन अस्तव्यस्त भइयो भने चाहिं समस्या हुने हो । म आफू व्यस्त मात्रै भएकी छु । सामाजिक संघ संस्थाहरुमा समय दिने भनेको निश्चित समय हुन्छ । व्यवसायसंगै आफनो रुचीको क्षेत्रको सामाजिक काम पनि भएकाले सहजै कार्य सम्पादन गर्ने गरेकी छु ।
तपाइँले केही बालबालिकाहरुको अभिभावकत्व पनि लिनु भएको छ नि किन ?
मेरो जिवनको लक्ष्य भनेकै समाजमा केही योगदान गर्न सकुँ भन्ने हो । त्यसमा पनि बाल बच्चाहरु र उनीहरुको शिक्षानै पहिलो प्राथमिक बिषय हो जस्तो मलाई लाग्छ । हुन त समाजमा समस्या धेरै खाले छन । चरम आर्थिक विपन्नता भएका अति विपन्न मानिसहरुको पनि बसोबास भएको देश हो हाम्रो । समस्या धेरै छन नै तर सक्नेले , हुनेले आफूसंग भएको केही हिस्सा नहुनेलाई सहयोग गरौं भन्ने मेरो ध्येय हो । अर्को अर्थमा भन्नु पर्दा मेरो लागि व्यवसाय एउटा पेशा हो भने समाजसेवाचाहिं रुचीको बिषय हो । मैंले सामाजिक काम मनदेखि लागेर सेवा गर्नका लागि गरेकी हुँ । अहिले सम्म त्यसका बारेमा मैंले त्यस्तो प्रचारमा लैजान चाहेको पनि थिइँन । आज यो संयोग जुरेको छ । दमकको दिपिनी स्कुल र गृहयेश्वरी मावि लखनपुरमा २ जना बालबालिकाको बिद्यालय तह सम्मको पठनपाठनका लागि शैक्षिक अभिभावकत्व लिएकी छु । ३ बर्षदेखि यसलाई निरन्तरता दिएकी छु ।
