सामाजिक न्याय र  लैंगिक समानता ,दिगो बिकासको सुनिश्चितता भन्ने मुल नारासहित ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि मनाइएको छ । हरेक बर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ । यो दिवसको ऐतिहासिक पृष्ठभुमिको महत्वलाई सतही रुपमा बुझ्दा राजनीतिक किसिमको मात्रै भएपनि यो विशेषत महिला अधिकारका सवालमा केन्द्रीत छ । यो दिवस राजनीतिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू यसको बिषय बन्ने गरेका छन् ।

हुन त, अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सन १९०८ मा अमेरीकाबाट यो दिवस मनाउन थाल्दा त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो ।

त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन । १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । यसरी अन्तर्राष्ट्रिय रुपमा क्रमिक रुपमा यो दिवस महिलाहरुको मात्र होईन सिंगो समाजकै ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । त्यसो त, नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा यो अभियान विश्वका अधिकांश देशहरुमा मनाइदै आइएको छ ।

यि दिन र सन्दर्भहरु भने महिला सशक्तिकरण, समानता र न्यायका लागि अन्तर्राष्ट्रिय चाडहरु पनि हुन् । तर यि दिनहरुलाई औपचारिकर कर्मकाण्डी मात्र बनाउनु भन्दा पनि महिला अधिकार, सशक्तिकरण तथा समानताका पक्षमा प्राप्त अधिकार, तिनको उपयोग र व्यवहारीकताको समिक्षा पनि गर्न जरुरी हुन्छ । पछिल्ला वर्षहरुमा नेपालमा राजनीतिक रुपमा महिला अधिकार र नीति निर्माणमा सहभागीता निक्कै आशालाग्दो अवस्थामा पनि पुगेको छ । तीन तहका सरकार सञ्चालनमा आएसँगै नीति निर्माण र कार्यान्वयनमा पनि महिलाहरुको बलियो उपस्थिती पाईन्छ ।

स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख मध्ये एक पदमा महिलाहरुको दर्विलो उपस्थिती छ भने महिला सदस्य, दलित महिला सदस्यको अनिवार्यताले पनि स्थानीय सरकार विगतको भन्दा महिलामय पनि बनेका छन् । यस्तै प्रदेश सभा र संघीय संसदमा पनि समानुपातिक सहभागीताको व्यवस्थाले नीति निर्माण तहमा महिलाहरु पुगेका छन् । राजनीतिक परिवर्तन र उपलव्धीको दृष्टिकोणबाट हेर्दा उपव्धिमूलक देखिए पनि महिला बिरुद्ध हिंसा जुन गतिमा बढेको छ हिंसाका विरुद्ध महिलाको सक्रियता त्यो भन्दा निक्कै नै कमजोर छ समाजमा । विभिन्न लोभ प्रलोभन, डर त्रास र धम्कीको सहारामा बलात्कार, हत्या जस्ता जघन्य अपराध बढि रहेका छन ।

आर्थिक रुपमा कमजोर अर्थात विपन्न वर्ग समुदाय यस्ता अपराधको शिकार धेरै हुने गरेको तथ्यहरु बाहिर आएका छन । कतै रोजगारी दिने बहानामा त कतै विदेशमा आकर्षक कमाई हुने आश्वासन देखाएर त कतै ससाना व्यक्तिगत आवश्यकताहरु पूरा गर्ने बहानामा निम्न वर्गका महिलाहरुमाथि कुनै न कुनै रुपमा शोषणका घटनाहरु बाहिर आइरहेका छन । दण्डहिनता उसैगरि बढेको छ । परिवार–परिवार भित्रै पनि महिला बिरुद्धका बिभेदका थुप्रै उदाहरणहरु छन । महिला समानता र अधिकारका लागि मनाइने यस्ता दिवस विशेष कार्यक्रमका प्रमुख पात्र अर्थात वक्ताहरुनै व्यवहारिक रुपमा महिलालाई समान अधिकार दिन तयार नभएका पनि पाइन्छ । अत यि दिवसहरु कर्मकाण्डी नभई उपलव्धिमूलक बनाइनु जरुरी छ ।

Facebook Comments Box