आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज विशेष महत्व साथ रोपाइँ जात्रा गर्ने चलन छ । आजकै दिनलाई धान दिवसका रुपमा पनि मनाइन्छ ।


धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाएर र रोपाइँका नाममा हिलोमा पस्दै जात्रा देखाएर असार १५ मनाउँछन् । असार १५ किसानहरुलाई महत्वपूर्ण पर्व भएको प्रचार प्रसार गराउन सक्रिय राज्यका कृषि सम्बद्ध निकायहरुले तिनै किसानको समस्याको निराकरणमा भने ध्यान दिएको देखिँदैन । कृषि उपजको बजारीकरण, मुल्यमा गिरावट, मल , बिउ, सिचाइँ आदिको अभाव जस्ता बिषयमा सधैं राज्य पक्ष बेखबर जस्तै छ । असार १५ का दिन यतिबेला धान रोपाइँसंगै थुप्रै समस्याहरुको चाङ छ ।
नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आइएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । कृषि विभागका अनुसार नेपालमा सरदर करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा कृषि अनुदानको अनियमित वितरण किसानका थप समस्या हुन उन्नत जातका धानका बीउमा किसानको पहुँच पुग्ने हो भने धान उत्पादनमा वृद्धि गर्न सकिने धानविज्ञ भोलामान सिंह बस्नेत बताउँछन । अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन/प्रति हेक्टर छ ।

 

Facebook Comments Box