दमक/नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको नेतृत्व परिवर्तनसंगै देशैभर कार्यकर्ता परिचालनका लागि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ ।   किरण पौडेलले संघको केन्द्रिय नेतृत्वमा जिम्मेवारी सम्हाले लगत्तै देशभर युवा परिचालन अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका हुन ।

संघले देशैभरका स्थानीय सरकारलाई युवा सरोकारका विभिन्न १६ बुँदे ध्यानाकर्षण पत्र बुझाए लगत्तै शनिबार सरसफाई लगायतका विविध कार्यक्रमहरु गरिएका छन । सो क्रममा संघको दमक नगर कमिटिले आज ( शनिबार) दमकमा ऐतिहासिक महत्व राख्ने राष्ट्रिय विभुतीहरुको शालिकस्थलमा सरसफाई गरेको छ ।

दमकस्थित देवकोटा चोकमा रहेको महाकवी लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको स्थलमा र दमक ५ स्थित आदिकवी भानुभक्त आचार्यको शालिक स्थल भानु चोकमा सरसफाई गरिएको हो । त्यसैगरी दमकको मुख्य आकर्षणका रुपमा रहेको दमक ६ स्थित नमुना मार्गमा पनि सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सदस्य जमुना निरौला अधिकारीले जानकारी दिइन ।
शालिक राखिएका स्थानमा बर्षमा एक दिन मात्रै सबैको नजर पर्ने र अन्य दिन त्यसको सरसफाई तथा संरक्षणमा कसैको ध्यान नजाँदा फोहोर हुने भएकाले शालिकस्थलमा विशेष महत्वका साथ सरसफाई गरिएको संघका दमक नगर कमिटी अध्यक्ष एवं केन्द्रिय सदस्य राम पौडेलले बताए ।

Facebook Comments Box