दमक/सत्तारुढ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले संगठनको देशव्यापी कार्यक्रम अनुसार स्थानीय सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । संघले कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटने युवावर्गलाई लक्षित गरेर स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना हुने तथा स्वरोजगार बनाउने कार्यक्रमहरु ल्याउनुपर्ने जोडदार मागसहित सो ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सदस्य जमुना निरौला अधिकारीले जानकारी दिइन ।

युवा नीति २०७२ र युथ भिजन २०२५ को निर्देशक सिद्धान्त रणनीतिलाई आत्मसाथ गर्दै स्थानीय तहका नीति कार्यक्रमहरु ल्याउनुपर्ने, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको कला, सीप र दक्षतालाई स्वदेशमै उपयोगको वातावरण बनाउन, युवा रोजगार प्रवद्र्धन केन्द्र सञ्चालन गर्न, भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गरी सरोकारवाला निकायलाई पारदर्शी र नागरिकहरुप्रति जिम्मेवार बनाउनु पर्ने लगायतका १६ बुँदे माग पत्र समेटिएको ज्ञापन पत्र बुझाइएको हो ।
सो ज्ञापन पत्र नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले बुझदै युवा लक्षित कार्यक्रमहरु दमकको नीति, बजेट तथा कार्यक्रमहरुमा समावेश गर्ने प्रतिबद्धता जनाए । सो पत्र बुझाउन संघका केन्द्रिय सचिवालय सदस्य शम्भु भण्डारी, केन्द्रिय सदस्य तथा दमक नगर कमिटी अध्यक्ष राम पौडेल, केन्द्रिय सदस्य अधिकारीसहित संघका नेता कार्यकर्ताहरुको टोली बिहिबार नगरपालिका कार्यालयमा पुगेको थियो ।