छविराज ढकाल
पथरीशनिश्चरे, असार-८ / पूर्वी मोरङको पथरीशनिश्चरे नगरको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि पेश हुने नीति, कार्यक्रम र बजेटबारे मंगलबार नगर कार्यपालिका बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि आउँदो १० गते हुने भनिएको नगरसभामा पेश हुने प्रस्तावित नीति, कार्यक्रम र बजेटबारे गहन छलफल गरी निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाएका हुन् । बैठकले वडाहरुबाट आएका र नगरस्तरका कार्यक्रम तथा बजेटका बारेमा छलफल गर्दै नगरसभाका लागि प्रस्तावित निर्णय गरेको उनले बताए ।
यसै सम्बन्धमा हिजो सोमबार पनि बैठक भएको थियो । कोरोना भाइरसको संक्रमण अझै पनि नियन्त्रणमा आई नसकेको भन्दै खुलासत्रको कार्यक्रम नगर्ने जनाईएको छ। साथै, सबै जनप्रतिनिधि र कर्मचारीको एन्टिजेन परीक्षण गरेर मात्रै नगरसभामा सहभागिता जनाउने निर्णय समेत भएको छ । उच्च स्वास्थ्य सतर्कता अपनाउदै आउदो १० गते विहान ८ बजेदेखि नगरसभा सञ्चालन हुने भन्दै सोको तयारीको लागि असार ९ गतेदेखि नै नगर कार्यालयको सेवा र १० गते नगर कार्यालयसहित सम्पुर्ण वडा कार्यालयहरुको सेवा प्रवाह स्थगित गरिएको सूचना प्रकाशन भएको छ ।
यसैगरी, १० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको छ भने नगरसभाद्वारा पारित नीति, कार्यक्रम र बजेटका सम्बन्धमा असार ११ गते शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ । सोही पत्रकार सम्मेलनमार्फत नगरको उत्कृष्ठ पत्रकार सम्मान, उत्कृष्ठ पत्रकार पुरस्कार, उत्कृष्ठ सञ्चारसंस्था पुरस्कार र लेखनबृत्ति रकम प्रदान गरिने कार्यक्रम समेत रहेको नगरका संचार संयोजक भुपेन्द्र तिम्सिनाले बताएका छन् ।