दमक/ नेपाली कांग्रेसमा नयाँ नेतृत्वका लागि दाबी पेश गर्दै समिकरण बनाउने कसरत शुरु भएको छ । भदौं १६ गतेदेखि काठमाडौंमा हुने १४ औं महाधिभवेशनमा नेतृत्व लिन अहिले पहिलो र दोस्रो पुस्ताका नेताहरुले सक्रियता बढाएका छन् । अबको महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गर्नुभएका उपसभापति विमलेन्द्र निधिले हिजो महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग छलफल गर्नुभएको छ । तीन नेताबीच अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।
उता, सभापतिमा दोहोरिने योजनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो समुहका केन्द्रीय सदस्यहरूसँग छलफल तीव्र पार्नुभएको छ । आसन्न १४ औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गर्नुभएका देउवालाई यसपटक आफ्नै समुह मिलाउन कठिन हुने देखिएको छ । उपसभापति बिमलेन्द्र निधीले साथ छाडेपनि आफुलाई कुनै फरक नपर्ने देउवाको भनाई छ । अर्कातिर कोइराला परिवारबाट एक जना मात्रै सभापतिका लागि उम्मेदवार बन्ने आउनु भएका डा. शेखर कोइरालाले नयाँ पुस्तालाई समेटेर अघि बढने उदघोषसहित भेटघाट र छलफललाई अघि बढाइरहनु भएको छ । डा. कोइरालाले आफू एक पटक मात्रै पार्टी सभापति बन्ने संसदीय दलको नेता समेत प्रकाशमान सिंहलाई बनाउने प्रस्ताव सार्वजनिक गरिसक्नु भएको छ ।