आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएको थियो । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो , उनीमाथि भगवानले पनि अन्याय गरे जस्तै भयो । 

विष्णु पौडेल
कमल ( टुकुरे) / असारको सिमसिम पानी घर भित्रै पसेको छ । घरमा खाने अन्नपातको कुरा त परै छाडौं । दाताले दिएको चामल, नुन तेल पनि पानीले नभिज्ने गरी राख्ने ठाउँ छैन ।
शुक्रबार अपरान्ह कमल ५ को टुकुरे बस्तीकी २५ बर्षिया संगीता राईको घरमा पुग्दा देखिएको गरीबिको त्यो दर्दनाक दृश्य देखेर धेरैका आँखा रसाए । काखमा दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक बर्ष अघि संगीताका पति पुष्प राई अचानक रतुवा खोलामा सदाका लागि बगे । ६ महिनापछि संगीताको काखमा तेस्रो सन्तानका रुपमा छोरी एलिना थपिइन । एलिना अहिले करिब ६ महिनाकी छिन । टाटीबेरा भत्किएको र पानी चुहिँदै गरेको छाप्रो भित्रका प्वालहरुबाट एलिना आफनो भाग्य चिहाउँदैछिन ।
आफनै अवस्थाबारे केही बोल्न नसक्ने छिन संगीता । उनकी छिमेकी शान्ता चेम्जोङ ( देवान) भन्छिन–मुर्छा पर्ने बिराम पनि रहेछ , खोला छेउमा गएको बेला डुबेर त्यस्तो घटना हुन गएछ । संगीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन– सोझा सिधा, गरीबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।


संगीताको परिवार त्यहाँ बस्नु अघि नातेदार ( संगीताका काका ससुरा) को घरमा बस्थ्यो । आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएको थियो । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो , उनीमाथि भगवानले पनि अन्याय गरे जस्तै भयो ।
अहिले काखमा तीन नाबालक छोरी लालनपालनको जिम्मेवारी संगीताको काँधमा छ , तर बस्नका लागि सुरक्षित घर सम्म छैन ।
टोल विकास चलाउने खर्च १० हजार, विपन्नहरु भोकै
झापाको निर्वाचन क्षेत्र नं ५ मा पर्ने कमल गाउँपालिकाको ५ नम्बर वडाको यो टुकुरे टोल हरेक निर्वाचनका समयमा भोट बैंकका रुपमा चिनिन्छ । यहाँका भुमीहिनहरुको भोट संख्याका आधारमा वरपर बस्ने टाठा बाठाहरुले भोटको मोल मोलाई गरेर पार्टी र उम्मेदवार सम्म पुरयाउँछन ।
भोट माग्न आउनेलाई दिदैंनौ भन्ने कुरा आएन – यहाँको भोट खरिद बिक्री हुने गरेको तर्फ संकेत गर्दै एक जना स्थानीयले थपे– यहाँको भोटले कोही प्रधानमन्त्री भए कोही सांसद भए होलान कोही के के भए तर हामी जहाँका त्यहीं छौं । एकाध परिवार चरम गरीबिले पिल्सिए पनि सरकारका कुनै कार्यक्रमले छुन सकेको छैन ।
विपन्न तथ भुमीहिन नागरिकहरुका लागि सुरक्षित आवास, विपन्न आवास, जनता आवास लगायतका सरकारका कैंयौं आवास कार्यक्रमहरु आएपनि संगीता र संगीता जस्ता पहुँच नभएका परिवारले त्यसको अनुभूति गर्न नपाएको देखिन्छ । स्थानीय सरकार ( गाउँपालिका) को नेतृत्व समेत महिलाले सम्हालिरहेको कमल गाउँपालिकाको टुकुरेका विपन्न महिलाहरु सहाराबिहिन देखिन्छन । यो वडाले आर्थिक बर्षको अन्त्यतिर आएर वडामा रहेका सबै टोल बिकास संस्था/समितिहरुलाई संस्था सञ्चालनका लागि भन्दै १०/१० हजार रुपैयाँका दरले रकम बाँडने सूचना निकालेको छ तर टुकुरेका विपन्नहरुको आधारभुत आवश्यकता पूरा गर्ने छाँटकाँट देखिँदैन ।

Facebook Comments Box