दमक/ दमकमा क्रियाशील क्यारिङ हेन्डस नामक संस्थाले सामाजिक काममा निरन्तरता दिएको छ । सो संस्थाले कोरोना महामारी र यसका कारण भएको बन्दाबन्दीबाट प्रभावित दमकका विभिन्न वडाका ५० परिवारलाई खाद्यान्न राहत प्रदान गरेको संस्थाका अध्यक्ष प्रज्वल अधिकारीले जानकारी दिए । शुक्रबार संस्थाका कार्यक्रम संयोजक साहिल गौतम, प्रवक्ता रोहन घिमिरे, सल्लाहकार कमल गैरे सहितको समुहले घर घरमा पुगेर चामल, नुन, तेल, सोयाबिन लगायतका खाद्यान्न सामान हस्तान्तरण गरेका हुन ।

सो संस्थाले कूल ७०० केजी चामल, ७५ केजी दाल, ५० लिटर खानेतेल, ५० केजी नुन र ५० प्याकेट सोयाबिन राहत स्वरुप प्रदान गरेको हो । बन्दाबन्दीका कारण सामान्य व्यवसाय गरेर बसेका तथा ज्यालादारीमा काम गर्ने विपन्नहरुको घरमा चुल्हो बल्न नसकिरहेको भन्ने सूचनाका आधारमा संस्थाले दाताहरुको सहयोगमा सो राहत प्रदान गरेको अधिकारीले बताए । सन्तोष गौतम, गौरव चौधरी, केशव गौतम, धनराज राई, बाल मुकुन्द तिम्सिना, सुवास गडतौला, डिन्सन बोहोरा, लक्ष्मी बाहिङ राई, भुपेश कोइराला, नारायण र दुर्गा ढकालको सहयोगमा सो राहत वितरण गरिएको उनले बताए । यस अघि सो संस्थाले गत बुधबार दमकमा सडकमा भेटिएका करिब २ सय कुकुरलाई खाना खुवाएर एलर्जी विरुद्धको इन्जेक्सन लगाएर सेवामुलक काम गरेको थियो ।

Facebook Comments Box