दमक/ दमकमा मध्यराती सम्म र बिहान उज्यालो नहुँदैदेखि खुल्ने अस्पताल आसपास क्षेत्रका होटलहरु करिब एक महिनादेखि बन्द छन । अस्पतालमा आउने बिरामी, कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु अस्पताल आसपासमा चल्ने होटलका ग्राहक हुन्थे । बिरामी र कुरुवाको भरमा चलेका होटलहरु बन्द हुँदा ति होटल व्यवसायीहरु जति समस्यामा हुन्छन त्यो भन्दा धेरै अस्पतालमा आउने बिरामी कुरुवाहरु पर्ने निश्चित हो । तर दमकमा १५ दिन अघिदेखि यो समस्या छैन भने पनि हुन्छ ।
दमकमा सरकारी, सामुदायिक र निजी गरी चार अस्पतालमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । कतिपय संक्रमितहरुसंग आफनै गाउँ छिमेकी र आफन्तले गर्ने व्यवहारको आलोचना प्रशस्तै सुनिन्छ तर आम्दा अस्पतालका छिमेकीहरुको व्यवहार बिल्कुल फरक छ । यो अस्पतालमा एक महिना अघिदेखि कोरोना संक्रमितहरु नियमित उपचारमा छन ।
संक्रमण तिब्र फैलिएपछि दमकमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार निषेधाज्ञा छ । निषेधाज्ञाका कारण यहाँका अस्पताल आसपासका होटलहरु पनि बन्द छन । तर पनि अस्पतालमा आउने कुरुवा र संक्रमित तथा बिरामीहरुका लागि होटलमा जस्तै तर निशुल्क सेवा यहाँका छिमेकी युवाहरुले दिइरहेका छन । उनीहरु बिहान, दिउँसो र राती समेत खाजा, खाना र तातोपानीको सेवा निशुल्क दिइरहेका छन । आम्दा अस्पताल छिमेकी युवा परिवार नामाकरण गरेर युवाहरु स्वतस्फूर्त रुपमा बिरामी र कुरुवाहरुलाई होटलको बिकल्पमा निशुल्क खाजा/खाना खुवाइरहेका छन । यहाँ यो क्रम चलेको १५ दिन बितिसकेको छ । आम्दा अस्पताल छिमेकी युवा परिवारको नेतृत्व गर्दै आएका छन स्थानीय गोपाल थापाले । थापा भन्छन– हाम्रो उद्धेश्य अरु केही होइन समस्यामा परेकालाई सेवा गरौं भन्ने मात्रै हो ।
युवाहरुको यो अभियानमा जोडिएका अर्का नेतृत्वकर्ता हुन शम्भु भण्डारी । उनीहरुसहित त्यहाँका स्वयंसेवी युवाहरु निशुल्क भोजन अभियानमा निरन्तर लागिरहेका छन । 
खाना खान नपाएको अवस्थामा यूवाहरुले निशुल्क खाना खुवाउने कार्यले विरामी र विरामीको रेखदेखमा खटिएकालाई ठूलो राहत पुगेको बिरामीका कुरुवाहरु बताउँछन । आम्दा छिमेकी युवा परिवारको यो कामको प्रशंसा गर्दै दाताहरुले आफनो जन्मदिन, बैबाहिक बर्ष गाँठको अवसर वा अरु नै दिनमा पनि नगद र जिन्सी सहयोग गर्दै आएका छन । कोरोना महामारीमा समस्या परेकालाई खाना खुवाउन पाउँदा आफूहरुलाई सन्तुष्टी मिलेको सो समूहका सचिव भण्डारीले बताए । उनले दैनिक करिब एक सय जनालाई खाना खुवाउने गरिएको पनि जनाए ।