दमक/ कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासन र नगरस्तरीय समितिले लगाएको निषेधाज्ञाको पालनामा हेल्चेक्रयाइँ हुँदा कोरोनाको संक्रमण फैलिने क्रम घटन सकेको छैन ।
मंगलबार र बुधबार विभिन्न प्रयोगशालामा गरिएको पीसिआर तथा एन्टिजेन परिक्षण मार्फत मात्रै कूल ६८ जनामा कोरोना पुष्टि भएको पाइएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आज ( बुधबार) उपलब्ध गराएको तथ्याङक अनुसार दमकमा हाल ५१० जना सक्रिय संक्रमित थपिएका छन । मंगलबार सम्ममा कूल ४४२ मात्रै थिए । यो तथ्याङकले २४ घण्टा भित्र ६८ जना नयाँ संक्रमित दमकमा थपिएका देखाउँछ । स्वास्थ्य शाखाको रिपोर्ट अनुसार हाल सम्म संक्रमण मुक्त हुनेको संख्यामा ६९७ छ ।
दमकसहित झापा जिल्लाभर करिब तीन सातादेखि निषेधाज्ञा छ । निषेधाज्ञाको समयमा पनि आंशिक समय खाद्यन्न डेलिभरी, निर्माण सामाग्री ओसारपसारका निहुँमा मानिसहरुको चहलपहल बढनाले दमकमा कोरोना संक्रमण फैलिने क्रममा कमि आउन नसकेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
मानिसहरु साँझ पख हुल बाँधिएर हिंडने तथा किराना, तरकारी, हार्डवेयरदेखि होटल लगायतमा समेत लुकिछिपी मानिसहरुको आवतजावत र सम्पर्क रोकिन नसकेको हो । देशभरको तथ्याङकलाई हेरेर निषेधाज्ञा खुकुलो बनाउने संकेत भएपनि दमक र दमकसंग जोडिएका आसपासका क्षेत्रमा संक्रमण फैलिने क्रममा कमि आउन नसकेकोले थप कडाइँसाथ निषेधाज्ञा लगाउनु पर्ने देखिन्छ । दैनिक ज्यालादारीमा काम गर्ने तथा विपन्न वर्गलाई सरकारले घर घरमै खाद्यन्नको व्यवस्था गरेरै भएपनि निषेधाज्ञा कडाइँसाथ कार्यान्वयन गर्नुको बिकल्प देखिदैंन ।