दमक/ प्रहरीको भुमिका शान्ति सुव्यवस्था कायम राख्नका लागि हुनुपर्ने हो । यतिबेला कोरोना संक्रमणका समयमा त झन प्रहरीको भुमिका अझै बढेको छ । ठाउँ ठाउँमा रात दिन भोक प्यासको वास्ता नगरी प्रहरी खटिएका उदाहरण प्रशस्तै छन तर यो बिषम परिस्थितिको फाइदा उठाउँदै रक्सी पसलमा गएर रक्सी चोर्ने सम्मको हर्कत पनि बर्दीधारी नेपाल प्रहरीबाटै भएको सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैैन यस्तो घटना सिराहाको लहानमा भएको छ ।
केही दिन अघि त्यहाँको पूजा मदिरा पसलमा होहल्ला भएपछि आवश्यक सुरक्षाका लागि गएका प्रहरीका एक जना असई ( प्रहरी सहायक निरिक्षक)सहित तीन जनाले सोही पसलबाट मदिरा चोरी गर्दै गरेको फोटो सामाजिक सञ्जाल मार्फत बाहिर आयो । त्यस लगत्तै विभागले आचरण विपरीत कार्य गरेको भन्दै तीनै जनालाई निलम्बन गरेर कारबाही अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माका अनुसार त्यहाँ काममा खटिएका प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ । प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनै जनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।