दमक/ झापा र पाँचथरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । पाँचथरको फिदिम ३ सुमिना चौकस्थित मेची लोकमार्गमा दक्षिणबाट उतर तर्फ जादै गरेको प्र १–०१– ००१ च ७७०६ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा एम्बुलेन्समा सवार याङबरक २ की ५० बर्षिया ममता राईको ज्यान गएको हो ।
दुर्घटनामा गम्भिर घाइते उनको जिल्ला अस्तपाल पाँचथरमा उपचारको क्रममा आईतबार ( हिजो ) अपरान्ह ४ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका १९ बर्षिय हेमन्त सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षिय डोड कुमार राई घाईते भएका छन । उनीहरुको सोहि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ का २८ बर्षिय बिरेन्द्र धिताललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको शिवसताक्षीमा पर्ने दुधे–शिवगञ्ज सडक अन्तर्गत दुधेमा आईतबार साँझ भएको मोटरसइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शिवगञ्जबाट दुधेतर्फ आउने क्रममा बिच सडकमा डिभाइडरका रुपमा राखिएका गमलामा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर भएको दुर्घटनामा शिवसताक्षी ६ का अन्दाजी ३२ बर्षिय जिवन दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते दर्नालको उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाउने वित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरिक्षक ध्रुवनारायण प्रधानले जानकारी दिए ।
आम्दा सडकमा मोटरसाइकल दुर्घटना
त्यसैगरी आइतबार राती करिब साढे ७ बजे दमक २ स्थित आम्दा अस्पताल अगाडी निर्माणाधिन भित्री पक्की सडकमा रोकी राखेको लहरीमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे. ५ प. ५१७३ नम्बरको मोटरसाइकल बाटो छेउमा रोकी राखेको ना.१ क. ५३५९ नम्बरको (कालिका कन्ट्रक्सन कम्पनीको) खाली लहरीको पछाडी आफैं ठोक्किदा मोटरसाइकल चालक दमक २ का ३२ बर्षिय आशिष ढकाल घाईते भएका हुन । उनको उपचारका लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ । लहरी र लहरी चालक मकवानपुर उमनपा. १७ हेटौडाका ४० बर्षिय राम कुमार बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।