दमक/सरकारले समग्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि वितरणमुखी बजेट ल्याए पनि अहिले प्रमुख समस्याको रुपमा रहेको कोरोना महामारी नियन्त्रणलाई भने उच्च प्राथमिकता दिएको छ । कोरोना विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि बजेटमा उच्च प्राथमिकता दिइएको हो । सोका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बजेटमा उल्लेख गरे ।

अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ ।
सरकारले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि चार अर्ब छुट्याएको मन्त्री पौडेलले बताए ।
यस्तै सरकारले पालिकाहरुमा पठाउने बजेट रकम बढाएको छ । कोरोनाले ज्यान गुमाएकाका सन्तानलाई छात्रवृत्तिसँगै साना किसानलाई मल र बिउमा अनुदान दिने घोषणा पनि गरेको छ । शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको बजेटमा पूर्वाधार विकासमा व्यापक जोड दिइएको छ । त्यस्तै बजेटमा थलिएको अर्थतन्त्रको पुनरूत्थानका लागि विभिन्न छुट तथा सहुलियतका कार्यक्रमहरु पनि समेटिएको छ ।
बजेटमा कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा सरकारले गरिबी निवारण कोष र सांसद विकास कोष खारेजी पनि गरेको छ ।
सरकारी कर्मचारीको तलब बढ्यो
सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ । महंगीभत्ता यथावत राखिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता ४ हजार
सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिए । उनले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिए
सरकारी कर्मचारीलाई घुम्न पठाइने
सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।
सुरक्षाकर्मीको रासन भत्ता बढ्यो
सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाउने बजेटमा उल्लेख छ ।
पत्रकारको उपचार निःशुल्क
सरकारले देशभित्रका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्यो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराए ।