दमक/झापाको दमकस्थित आम्दा अस्पतालमा उपचाररत कोरोना संक्रमित तथा बिरामीका कुरुवाको व्यवस्थापनमा स्थानीय युवाहरुले सक्रियता देखाएका छन । दमक २ स्थित सो अस्पताल आसपासका छिमेकी युवाहरुले संगठित रुपमा संक्रमित तथा कुरुवाहरुलाई दैनिक खाना र चिया नास्ता (खानेकुरा)को बन्दोबस्ती मिलाएका हुन । छरछिमेक र स्थानीय सहयोगी दाताहरुबाट स्वैच्छिक रुपमा खानाको बन्दोबस्तीका लागि स्रोत व्यवस्थापन गरिएको छ ।

युवाहरुले स्थानीय गोपाल थापाको अध्यक्षतामा सुरेश काफले उपाध्यक्ष, शम्भु भण्डारी सचिव, देवेन्द्र काफले सहसचिव र गणेश श्रेष्ठ कोषाध्यक्ष रहेको समितिनै गठन गरेर त्यहाँको व्यवस्थापन मिलाएका छन । समितिका सदस्यहरुमा अमृत अधिकारी कृष्ण खड्का ,टंक काफ्ले ,पिताम्बर दाहाल, रविन्द्र खड्का, धनबहादुर बस्नेत, दुर्गा बहादुर खडका, भवानी बराल, जीवन रोक्का, विशाल धौराली लगायत छन ।
सो समितिले अस्पताल परिसर भित्रै सुरक्षित रुपमा खाना पकाउने भान्सा सञ्चालन गरेको र आलोपालो गरी बिरामी तथा कुरुवाको सेवामा खटिएका छन । सो अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ३४ वटा विशेष बेड उपलब्ध गराइएको छ । अस्पतालको साविक इमर्जेन्सी कक्ष रहेको पुरानो भवनमा कोभिड वार्ड स्थापना गरिएको छ भने केही समय अघि दमकका लायन्स क्लबहरुको सक्रियतामा त्यहाँ स्थापना गरिएको लायन इमर्जेन्सी भवनमा अन्य रोगका बिरामीको लागि इमर्जेन्सी कक्ष सञ्चालनमा छ ।