दमक/ कोरोना संक्रमण रोकथामका लागि झापामा ७ जेठ ( हिजो) देखि थप एक साताका लागि जिल्ला प्रशासन कार्यालयले लगाएको पूर्ण निषेधाज्ञाको कार्यान्वयन भने आशिंक मात्रै भइरहेको छ ।

प्रशासनले पूर्ण निषेधाज्ञालाई निरन्तरता दिइएको जनाएतापनि सडकमा बिहान बेलुका मानिसहरुको चहलपहल निक्कै देखिन्छ ।
जिल्लाका प्रमुख बजारहरु बन्द जस्तै भएपनि साँझ पख लुकिछिपी किनमेलको बहानामा सडक भरि मानिसहरु हिंडेको देखिन्छ । दमकको मुख्य बजार क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन भएता पनि भित्री सडक किनारमा भएका पसल तथा होटलहरुमा मानिसहरुको चहलपहल देख्न सकिन्छ ।

दमकका ठाउँ ठाउँमा सशस्त्र, जनपथ र नगर प्रहरीको उपस्थिती देखिएपनि सर्वसाधारणले टेरेको देखिँदैन । बिहानै दमक चोक, भृकुटी चोक लगायत भित्री चोक तथा सडकहरुमा नगर प्रहरीले आज शनिबार बिहानैदेखि सक्रियता बढाएको छ । विना इजाजतका सवारी साधन तथा पैदलयात्रीलाई समेत आवतजावत रोक्न नगर प्रहरी फिल्डमा देखिन्छ । तर सर्वसाधारणहरु कोरोनादेखि भन्दा पनि प्रहरीसंग मात्रै डराउनाले प्रहरीको आँखा छल्दै भिडभाड गर्ने खालका गतिबिधिमा लागेको देखिन्छ ।

शुक्रबार दमकमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको नगरस्तरीय समितिले बिहिबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशलाई कडाइँसाथ कार्यान्वयन गराउन दमकमा खाद्यन्न , तरकारी तथा माछा मासुको होम डेलिभरी गर्न दिईने प्रशासनको निर्णयलाई तत्काल दमकमा कार्यान्वयन नगरी थप कडाइँ गर्ने निर्णय लिएको थियो ।

यसैबीच कोरोनाको दोश्रो लहर र जारी निषेधाज्ञा बारे दमक नगरपालिकाले आयोजना गरेको छलफलका सहभागीहरुले केहि समय धैर्य गरेर भए पनि संक्रमणको चेन ब्रेक आवश्यक रहेको बताएका छन ।
छलफलका क्रममा नगरप्रमुख रोमनाथ ओलीले जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको आदेशमा रहेका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्दै संक्रमण फैलिनबाट रोक्नु पर्ने बताए । सो क्रममा उनले साँझ बिहान विना काममा कतिपय हिडेको देखिने गरेकाले त्यस्तो कार्य समेत रोकिने बताए ।
नगर उपप्रमुख गीता अधिकारीले नगरभित्र संक्रमितहरुको उपचारका लागि दमक अस्पताल अन्तर्गतको उपचार केन्द्रलाई थप व्यवस्थित पारिएको, आईसोलेसन विस्तार गरिएको र निजी स्वास्थ्य संस्थाहरुसँग समेत सहकार्य भईरहेको जानकारी दिइन ।
छलफलमा दमक नगरका बजार अनुगमन समिति संयोजक भिम पौडेलले बजार पसल खुल्ला गर्न नदिईएको र अनुगमनमा कडाई गरिएको दाबी गरे । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले संक्रमण फैलिन नदिन व्यवसायीहरु पनि प्रतिवद्ध भएको जनाए ।
दमकमा मात्र यो समाचार तयार पार्दा सम्म सक्रिय संक्रमितको संख्या ५ सय ७५ पुगेको छ । ति मध्ये २ सय ७० महिला र बाँकी पुरुष छन् । नगरपालिका स्वास्थ्य शाखाका अनुसार कोरोनाको दोश्रो लहरयता ७ सय ७२ जना संक्रमित पहिचान भएकोमा १ सय ८५ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । दमक नगरपालिकाले संक्रमितहरुलाई घर घरै पुगेर औषधी तथा पोषिलो खानेकुरा वितरणको तयारी गरेको पनि जनाएको छ ।