दमक/ शुक्रबार बेलुकी ५ बजे सम्म प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधि सभा सदस्यहरुलाई आव्हान भएकोमा शनिबार ( आज) बिहान उज्यालो नहुँदै संसद भंग भई देशमा नयाँ चुनावको मिति घोषणा भएको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि पुनः दाबी पेश गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन पत्रमा केही सांसदहरुको हस्ताक्षर दोहोर देखिएको भन्दै राती करिब ११ बजे दुवै दाबी खारेज गरेकी थिइन ।
राष्ट्रपति कार्यालयबाट गरिएको ति दाबी खारेजी लगत्तै राती करिब १२ बजे पछि अर्थात ( ८ मसिंर ) मा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार नयाँ दुई चरणमा गर्ने चुनावको मिति तोकिएको हो ।


राष्ट्रपति कार्यालयबाट मिति उल्लेख नगरी सार्वजनिक गरिएको विज्ञप्तीमा संबिधानको धारा ७६ को उपाधारा ७ बमोजिम प्रतिनिधि सभा विघटन गरि चुनावको मिति तोकिएको उल्लेख छ । विज्ञप्तीमा अर्को प्रतिनिधि सभाको निर्वाचन कार्तिक २६ गते शुक्रबार र दोश्रो चरणको निर्वाचन मसिंर ३ गते शुक्रबारका लागि तोकिएको छ । यस अघि २०७७ पुष ६ मा पनि प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएको थियो । प्रतिनिधि सभा भंगसंगै वैशाखमा निर्वाचनको मिति तोकिएको थियो तर त्यस अघिनै सत्तारुढ तत्कालिन नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलहरु आन्दोलनमा गएका थिए । अन्तत सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाएपछि मुलुकको राजनीतिले नयाँ मोड लिँदै हिजो शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्तिको चरणमा प्रवेश गरेको थियो । तर त्यो प्रकृयामा देउवा र ओली दुवैको दाबी खारेजी भएपछि ओलीको सिफारिसमा पुनः संसद भंग भएको हो । नागरिकहरु कोरोनाको संक्रमणबाट थलिएको बेला असमयमै दोश्रोपटक संसद विघटन र नयाँ चुनावको मिति घोषणालाई बेमौसमी बाजाको रुपमा लिइएको छ ।

 

 

Facebook Comments Box