मोरङ/ झापा र मोरङमा सवारी दुर्घटनामा र हात्तीको आक्रमणमा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ गोकुवा चोकस्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट सोही ठाउँकी ५० बर्षीय बाल कुमार बस्नेतको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भएका छन । त्यसैगरी झापाको मेचीनगर ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ ।
गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको थियो । घाईते राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।