दमक/ जिल्ला प्रशासन कार्यालय झापाले गएराती देखि थप कडाइँसाथ निषेधाज्ञा लागू गरेपछि आज बिहानैदेखि झापाका सबै चोक बजार क्षेत्र सुनसान देखिएका छन । सडकमा मानिसहरु शुन्य प्रायः देखिन्छ ।

औषधी उपचारको प्रयोजन बाहेकको काममा सर्वसाधारणलाई हिंडडुल गर्न पूर्ण रुपमा रोक लगाइएको छ । बिहान ८ बजे सम्म दुध डेरी र अण्डाको किनबेचका लागि अनुमति दिइएपनि माछा मासुका लागि र तरकारी, किराना आदि सम्पूर्ण व्यवसाय पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा र दमक नगरपालिकाले अलग अलग जारी गरेको सूचनामा जेठ ७ गते सम्मका लागि बाहिरी हिंडडुलमा कडाइँ गरिएको जनाएको हो । दमकमा बैंक तथा वित्तीय संस्थाहरु सातामा दुई दिन मात्रै खुल्ने आदेश अनुसार भोली ( आइतबार) भने खुल्नेछन । तर बैंक तथा सहकारी सम्म जाने सर्वसाधारणका लागि भने बाहिर निस्किन पाउने आदेश छैन ।
दमक नगरपालिकाले आजैदेखि लागू हुने गरी दमक पूर्ण रुपमा बन्द गरेको नगर उपप्रमुख गीता अधिकारी जानकारी दिइन ।
नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक तथा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा गत बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णय अनुसार दमकमा कुनै पनि पसल / व्यवसाय, हिंडडुल आदि बन्द गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ५ सय बढी सक्रिय संक्रमित भएका छन । दमकको अवस्था दिनानुदिन चिन्ताजनक भएपछि यस किसिमको कडाइँ गर्ने अवस्था सिर्जना भएको नगर उपप्रमुख अधिकारीको भनाई छ ।
दमकसंगै जोडिएको कमल गाउँपालिकाको लखनपुर, केरखा क्षेत्र पनि सुनसान बनेको छ । त्यस क्षेत्रका सर्वसाधारण पनि अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किएका सगुन युवा क्लब लखनपुरका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए । प्रमुख शहर विर्तामोड पनि सुनसान बनेको छ । फाट्टफुट्ट अत्यावश्यक काम प्रयोजनका बाहेक कुनै पनि सवारी साधनहरु चलेका छैनन । भारतसंग सीमा जोडिएका दक्षिण÷ पश्चीम क्षेत्र गौरीगञ्ज, झापा बजार लगायतका ठाउँमा पनि निषेधाज्ञाको कडाइँ साथ कार्यान्वयन हुने संकेत देखिएको छ । बिहानैदेखि ति क्षेत्रमा मानिसहरुको चहलपहल बाहिर देखिएको छैन । घर तथा आफनो खेतबारीको काममा बाहेक चोक बजारमा मानिसहरु निस्किएका छैनन । पसल तथा व्यवसायहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

