बुधबारे/ झापा बुद्धशान्ति १ देउरालीका एक युवक वेपत्ता भएको २० बर्षपछि घर फर्किँदा सिंगो गाउँमा नै खुशीयाली छाएको छ । स्थानीय पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) का बारेमा २०५८ सालदेखि कुनै खुट खबर थिएन । परिवारले उनी फेरि घर फर्किएर आउलान् भन्ने आशानै गर्न छोडेका थिए ।

उनको अवस्था पूर्णरुपमा अज्ञात थियो । तर सामाजिक सञ्चालको माध्यमबाट २० वर्षदेखि हराएका राजन शुक्रबार टुप्लुक्क घर आइपुगेका छन् ।
मुम्बईको एक अस्पतालमा वेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अलि नैसेनले भिडियो अपलोड गरेपछि उनका परिवारका सदस्यले देखेर उनको पहिचान गरेका थिए । उनलाई मुम्बईबाट घरल्याउन त्यति सजिलो भने भएन परिवारलाई । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनी २० बर्ष अघि छाडेर गएको घर आइपुगेका छन् । कसरी मुम्बई पुगे र के कारणले घर आउन सकेनन ? भन्ने विस्तृत बुझ्ने काम भइरहेको छ ।
तर उनको शारिरीक अवस्था कमजोर छ । तन्दुरुस्त छैनन् । उनलाई पक्षघात भएको परिवारले जनाएको छ । उनलाई थप उपचारको आवश्यकता परेको छ । आर्थिक अवस्था अत्यन्त्यै कमजोर रहेको राजनको परिवारले उनको उपचारमा सहायताका लागि अपिल गरेका छन । परिवराको यस्तो याचनापछि राजन राई (राजु) उद्दार तथा उपचार समूह पनि गठन भएको छ । यसका संयोजक प्रकाश भण्डारी छन ।
बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत रहेका भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्दार तथा उपचार समूह गठन भएको हो । सो समूहले राजनको थप उपचारको प्रवन्ध मिलाउने बताइएको छ ।