दमक/ आज शुक्रबार मध्यरातीदेखि झापा जिल्लाभर पूर्ण रुपमा बन्दा बन्दी हुने भएपछि घरायसी किनमेलका लागि आज बिहानैदेखि दमक बजारमा भिडभाड लागेको छ । सर्वसाधारणहरु किराना तथा तरकारी किन्नका लागि बजारमा हुलका हुल पसेपछि दमकको नयाँ तरकारी बजार भित्र र बाहिरका किराना पसलहरुमा औधि भिड देखिएको हो ।
कतिपय समुहले गाडीमा लोड गरेर खाना पकाउने सिलिण्डर ग्याँस ओसार पसार गरेको समेत देखिएको छ । खाना पकाउने ग्याँस अति आवश्यक बस्तुका रुपमा पर्छ । यसको अनावश्यक भण्डारणका कारण बजारमा अभाव सिर्जन हुन सक्ने सक्ने भएकाले आवश्यक मात्राबाहेक ठुलो परिमाण्मा भण्डारण गरेर राख्नु आवश्यक नहुने व्यवसायीहरु बताउँछन । तर आज बिहान दमक चोक र बजार क्षेत्रमा ठुलो संख्यामा सिलिण्डर ग्याँस ओसारपसार भएको देखिएको छ ।
प्रशासनले एक साताका लागि निषेधाज्ञामा थप कडाइँ गरिने जिल्ला प्रशासन कार्यालय झापाद्धारा हिजो जारी आदेश पत्रमा उल्लेख छ । यस अवधिमा दुध डेरीको कारोबारका लागि बिहान ८ बजे सम्म खुल्ला राख्न दिइने र बाँकी समय पूर्ण रुपमा सबै खाले व्यवसाय बन्द गरिने जनाइएको छ । औषधि उपचार सेवा र पेट्रोलियम आपूतिका लागि बाहेक कुनै पनि प्रयोजनका लागि घर बाहिर निस्कन नपाइने जनाइएको छ ।



