दमक/झापाको गौरीगञ्ज २  कोरोबारी स्थित शिशु कल्याण प्राविका विपन्न विद्यार्थीहरुलाई दमकमा क्रियाशील दुई वटा लायन्स क्लबले संयुक्त रुपमा ८ सय ७० थान कापी प्रदान गरेका छन् ।

लायन्स क्लब अफ दमक इष्टर्न लायन र लायन्स क्लब अफ दमक गोल्डले संयुक्त रुपमा सो विद्यालयमा अध्ययनरत बालबालिकाको नियमित पठनपाठनमा सहजताका लागि कापी प्रदान गरेका हुन् । इष्टर्न लायनका तर्फबाट अध्यक्ष विमल शर्मा, दमकका सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील लायन गंगादेव चौधरी, दमक गोल्डका उपाध्यक्ष राम कार्की लगायतले विद्यालयका प्रधानाध्यापक यादव रिमाल, व्यवस्थापन समिति, शिक्षक अभिभावक प्रतिनिधि लगायत मार्फत संयुक्त रुपमा ति कापी हस्तान्तरण गरेका हुन् ।

 

बहुसंख्यक आदिवासी तथा सिमान्तकृत समुदायका बालबालिकाहरुले पढ्ने गरेको सो बिद्यालयका ८७ जना बालबालिकाका लागि ति कापी प्रदान गरिएको हो । यस अघि सो विद्यालय आसपास क्षेत्रका बालबालिकाहरु स्कूल पढ्न नगएको, विद्यालयमा विद्यार्थी अभावका कारण मर्ज गर्नुपर्ने अवस्था आएको चर्चा बाहिर आएपछि निष्कर्ष न्यूजले त्यसका बिषयमा प्राथमिकतापूर्वक समाचार सम्प्रेषण गरेको थियो ।

 

 

गत वैशाखमा शुरु भएको नयाँ विद्यार्थी भर्ना अभियानमा विद्यालयका प्रधानाध्यापक सहित स्थानीयहरु स्थानीय बालबालिकालाई सोहि विद्यालयमा भर्ना गरेर नियमित विद्यालय सञ्चालनका लागि सक्रिय भएपछि शिशु कल्याणले पूर्नजिवन पाएको बिषयलाई पनि निष्कर्ष न्यूजमा सम्प्रेषण गरिएको थियो । समाचारमा त्यस क्षेत्रका बालबालिकाहरु कापी, पेन्सिलकै अभावमा विद्यालय जान छोड्ने गरेको प्रसंग आएपछि दाताहरुले शैक्षिक सहयोगका लागि सहयोगी हात अघि बढाएका हुन् ।

Facebook Comments Box