दमक/ हतियार प्रहारबाट घाईते बनाएर लुटपाट मच्चाउने तीन जना धरानबाट पक्राउ परेका छन । प्रहरीका अनुसार धरान १५ पुर्वेली पथबाट धारिलो हतियार प्रहार गरी गम्भीर घाईते बनाएर नगद र गरगहना लुट्ने समुह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्दै आएका ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्दै आएका ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।
उनीहरुले यही बैशाख ११ गते बिहान सवा ९ बजे सोही ठाउँका झरना बिश्वकर्मा र उनका छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा झरनाकि आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरि गम्भीर घाईते बनाएर नगद २ लाख र घरमा रहेका सुनका गरगहना समेत करिब ११ लाख ४० हजार ९५० बराबरको धनमाल लुटेका थिए ।
सो घटनामा घाईते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । सो घटनामा संलग्नहरुको गहन र सुक्ष्म अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान र डाँका मुद्धामा कारवाही प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।