दमक/ कोरोनाबाट संक्रमित थप एक जना पत्रकारको आज ( शनिबार ) निधन भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सदस्य दिनेश दाहालको निधन भएको हो । गएको १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
१५ दिनदेखि उपचारको क्रममा रहेका दाहालको आज निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक÷प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण यस अघि झापाका पत्रकार कमल मिश्रको काठमाडौंमा नै निधन भएको थियो । संक्रमणका कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका नेपाल पत्रकार महासंघले जनाएको छ ।