समाचार विश्लेषण
दमक/समुदाय स्तरमा संक्रमण फैलिन नदिन झापामा लगभग एक साता अघिदेखि आंशिक किसिमको निषेधाज्ञा छ । गएराती ( बुधबार) देखि अझ कडाइँ गरिएको भनिएको निषेधाज्ञाको पहिलो दिन आज ( बिहिबार) बिहान जिल्लामा कोरोनाको संक्रमण उच्च भएको दमक नगरमा निषेधाज्ञा कार्यान्वयन निक्कै कमजोर रहयो ।


संक्रमितहरुको संख्याले दिन दिनै नयाँ रेकर्ड बनाइरहँदा पनि कतिपय सर्वसाधारणमा निषेधाज्ञा पालना गर्नुपर्छ भन्ने चेत खुलेको देखिएन । निषेधाज्ञाको समय आंशिक किसिमको भएका कारण पनि यस्तो अवस्था आएको सहजै अनुमान लगाउन सकिन्छ । बिहान १० बजेसम्म खाद्यन्न तथा अत्यावश्यक बस्तुको किनमेलका लागि भनेर बजार पसल खुल्ला राख्ने जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको बैठकको निर्णय र जिल्ला प्रशासनको आदेशलाई टेकेर दिनभर जसोनै मानिसहरुको चहलपहल सडकमा उस्तै देखिन पुग्यो । निर्माण क्षेत्रलाई खुल्ला राखिँदा निर्माण सामाग्री ओसारपसार गर्ने, तिनको रेखदेखमा खटिने र निर्माणको काममा खटिने मानिसहरुको चहलपहलले दमकमा खासै निषेधाज्ञाको अनुभूति हुन सकेन । बिहान पख सुरक्षाकर्मीको बाक्लो उपस्थिती हाइवे केन्द्रित देखिएपनि बजार र भित्रि सडकमा दिउँसो क्रमश उपस्थिती पातलो हुँदा हेल्चेक्रयाइँ गर्नेहरुको मनोबल बढेको देखिन्थ्यो ।

 

संक्रमण तिब्र भएपछि यतिबेला झापासहित ५० जिल्लामा सरकारले निषेधाज्ञा त जारी गरेको छ तर निषेधाज्ञाको उल्लंघन गर्दै हिंडडुल गर्ने क्रम रोकिएको छैन । पछिल्लो पटकको संक्रमणमा देशभर ५६ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् भने ३ सय १८ जनाको मत्यृ भइसकेको छ ।

विज्ञहरुको यस्तो चेतावनी
निषेधाज्ञा संक्रमण रोकथाम तथा नियन्त्रणको एउटा विधिमात्र हो, यसले पूर्ण रूपमा संक्रमण नियन्त्रण गर्न भने सक्दैन । संक्रमण चेन ब्रेकका लागि निषेधाज्ञा मात्र यथेष्ट नहुने जनस्वास्थयविद् डा. शरद वन्तको तर्क छ ।

सरकारले गत वर्ष संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुन विधि अपनाएको थियो अहिले पनि त्यही विधिमा मात्र सरकार केन्द्रीत छ । विगतबाट पाठ सिक्न नसक्दा अहिलेको हविगत आएको हो । यति मात्र होइन, गत वर्ष सरकारले संक्रमण रोकथामका लागि जति सक्रियता देखाएको थियो अहिले त्यस्तो देखिँदैन ।

संक्रमण चेन ब्रेक गर्न आयातित केसहरूलाई रोक्ने, परीक्षणको दायरा बढाउने र विगतको जस्तै कन्ट्याक्ट ट्रेसिङ र होमआइसोलेसनमा बसेकाहरूको उचित व्यवस्थापनमा सरकारले ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्यविद्हरूले औँल्याएका छन् । सरकारले संक्रमण रोक्न थप प्रभावकारी कदम नचाल्ने हो भने हो भने अहिले भारत जुन अवस्थाबाट गुज्रिहेको छ नेपालमा त्योभन्दा पनि भयावह स्थिति आउने सक्ने विज्ञहरू बताउँछन् ।

यसअघि निकै सक्रिय देखिएका स्थानीय सरकार यसपटक भने चुपचाप झैँ देखिएका छन् । अबको केही दिनभित्रै प्रभावकारी कदम चाल्न नसकिए विज्ञहरूको भनाइ ढिलोचाँडो पुष्टि नहोला भन्न सकिन्न ।

Facebook Comments Box