दमक/आजदेखि झापामा थप कडाइँ साथ लागू गरिएको निषेधाज्ञाको अवज्ञा गर्नेलाई दमकमा प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ ।
दमक चोक र आसपास क्षेत्रमा प्रहरीको टोलील सिटी रिक्सा, अटो, मोटरसाइकल आदि निषेधाज्ञा उल्लंघन गरेर गुडिरहेका सवारी साधन नियन्त्रणमा लिइरहेको हो । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले नियन्त्रणमा लिइएका सवारी साधनहरु कुदाउनु परेको अवस्था , परिस्थितिको मुल्याङकन गरेर तत्काल छाडने वा दिनभर होल्ड गर्ने गरिएको बताए । मान्छे के कति आवश्यकता र बाध्यताले निस्किएको हो भन्ने बुझिन्छ, त्यही अनुसार तत्काल छोडनु पर्नेलाई छोडिन्छ, अत्यावश्यक काम बिना निषेधाज्ञा उल्लंघन गर्नेलाई दिनभरीनै होल्ड गरेर मात्रै छाडिन्छ– डिएसपी कार्कीले निष्कर्ष न्यूजसंगको सक्षिंप्त कुराकानीमा भने ।
बिहान १० बजे खाद्यन्न तथा अत्यावश्यक बस्तुको किनमेलका लागि कतिपय पसलहरु खुलेपछि सर्वसाधारणहरुको हिंडडुल ( चहलपहल) देखिएको थियो । बिहान फाट्टफुट्ट रुपमा तोकिएका बाहेक अन्य पसल समेत खुलेका भएपनि प्रहरीको सक्रियतापछि बन्द भएका देखिन्थे । बिहानको समयमा नयाँ तरकारी बजारमा ग्राहक तथा व्यापारीको चहलपहल बाक्लो देखिन्थ्यो ।

कोरोनाको संक्रमण तिब्र फैलिएपछि झापामा गएरातीदेखि लागू हुने गरि एक साताका लागि निषेधाज्ञामा थप कडाइँ गरिएको हो । झापामा पछिल्लो समय संक्रमण फैलिने र मृत्यु हुने दर समेत उच्च छ । दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बराल अस्पतालमा चिकित्सकको सिफारिसमा पीसिआर परिक्षण गरिएका दमकका ८० प्रतिशतमा कोरोना संक्रमणको जोखिम देखिएको बताउँछन । उनले भने – भद्रपुरका ९१ मध्ये ७८ जनामा संक्रमण देखियो, दमकका ४५ मध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएबाट झापा जिल्लामा संक्रमणको जोखिम अधिक छ भन्ने बुझन गाह्रो छैन ।
हिजो बेलुकी मात्रै विराटनगरमा रहेका कोरोना परिक्षण सम्बन्धिको ल्याबमा उपलब्ध रिपोर्ट अनुसार झापामा संक्रमितको संख्या सोचे भन्दा ठुलो संख्यामा हुन सक्ने सम्भावना देखिएको स्वास्थ्य निरिक्षक बरालले बताए । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार हिजो ( बुधबार) एकैदिन झापामा ६ जना संक्रमितको मृत्यु भएको थियो ।

Facebook Comments Box