दमक/  कोरोना संक्रमितको उपचार तथा संक्रमित मृतकको शव व्यवस्थापनमा सहजताका लागि प्रदेश १ सरकारले महत्वपूर्ण निर्णय गरेको छ ।
कोरनो बाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपूर्ति दिने प्रदेश सरकारले निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख प्रदान गर्ने निर्णय भएको बैठकपछि सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।
कोभिड–१९ का संक्रमितको उपचारका लागि खटिने क्रममा संक्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्नेसमेत निर्णय भएको मन्त्री राईले बताइन् । उनले भनिन्, ‘कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभई घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्चसमेत प्रदेश सरकारले व्यहोर्ने छ ।

प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलव स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सामाजिक विकास मन्त्री राईले बताइन् ।

उनका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले खाना तथा खाजासहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

Facebook Comments Box