दमक/ कोरोना संक्रमणका कारण आज झापाको दमकमा दुई जनाको ज्यान गएको छ ।
दमक १ र २ का एक / एक जना पुरुषको संक्रमणका कारण ज्यान गएको नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिए । दमकमा हिजो ( मंगलबार) मात्रै दमक ५ की एक बृद्धाको मृत्यु भएको थियो । यससंगै दमकमा कोरोनाको दोश्रो लहर चलिरहँदा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यस अघि एक पुरुषको मृत्यु भएको थियो । दमकमा गएको चैत्र अन्तिम सातादेखि कोरोनाको दोश्रो लहर शुरु भएको हो ।

दिनदिनै नयाँ रेकर्ड
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा ५८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
दैनिक संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै सर्वाधिक हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ । कोरोना संक्रमणबाट मंगलबार ५५ जनाको मृत्यु भएको थियो भने सोमबार ३७ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको पनि अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएका हुन् । २१ हजार ३ सय ७२ जनामा कोरोना परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । गौतमका अनुसार पिसिआरबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

Facebook Comments Box