कमलमा स्थानीय सरकारलाई ७ दलीय गठबन्धनको ज्ञापन

Author Nishkarsha News
२०७८ बैशाख १९, आईतवार २२:०७

दमक/झापाको कमल गाउँपालिकामा क्रियाशील विभिन्न ७ दलले संयुक्त रुपमा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
नेपाली कांग्रेसको संयोजकत्वमा सो पालिकामा क्रियाशील नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी संघीय लिम्बुवान मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टी , राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी (क्रान्तिकारी) र नेकपा एमालेको गाउँस्तरीय समानान्तर कमिटीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन ।


ज्ञापन पत्रमा हाल रहेको स्थानमा नै आधारभुत अस्पताल निर्माण गरिनु पर्ने, कमल गाउँपालिकाको महत्वपूर्ण गहनाका रुपमा निर्माणाधिन आदिवासी रंगशालाका बिषयमा स्थानीय सरकार मौन बस्नु आश्चर्यको बिषय भएको भन्दै यथाशिघ्र बजेटको व्यवस्था गरि सो रंगशाला बनाइनु पर्ने, बिद्यालयहरुमा भइरहेको एक्लौटी हस्तक्षेप , कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका बिषयमा सबैसंग साझा छलफल र बहस गरिनुपर्ने, सुकुम्बासी तथा विपन्नहरुका बिषयमा स्थानीय सरकार अनुदार बनेको लगायतका बिषयहरु समेटिएको कांग्रेस कमल गाउँ सहसभापति राजकुमार न्यौपानेले बताए । स्थानीय सरकारले आगामी बजेट कार्यक्रमहरु बनाउँदा सबै राजनीतिक दलहरुसंगको छलफल र सहभागितामा बनाउनु पर्ने र समृद्ध कमल निर्माणका लागि सहकार्यमा पनि जोड दिइएको न्यौपानेले बताए ।
ज्ञापन पत्र बुझाउन गएको टोलीले संविधानले सबै नागरिकको मौलिक हक ग्यारेन्टी गरेको भएपनि स्थानीय सरकारले त्यसतर्फ ध्यान नदिई सुकुम्बासीहरुको उठिबास लगाएको, कृषि क्षेत्रमा प्राप्त अनुदानको सदुपयोग गर्नुको सट्टा नजिकका कार्यकर्ताहरुलाई मात्रै बाँडेको, बिकास निर्माणका कामहरु गुणस्तरीय र पारदर्शी ढंगबाट सञ्चालन नगरेको जस्ता बिषयमा पनि स्थानीय सरकारको ध्यानाकर्षण गराएको थियो ।
ज्ञापन पत्रमा कांग्रेस कमल गाउँ सभापति खगेन भण्डारी, जनता समाजवादी पार्टीका गाउँ समिति अध्यक्ष प्रेम राई, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सूर्य योक्पाङदेन, नेकपा माओवादी क्रान्तिकारीका सरल, राष्ट्रिय जनमुक्ति पार्टीका मान बहादुर मगर, नेकपा माओवादी केन्द्रका प्रताप सुब्बा र नेकपा एमालेको समानान्तर कमिटीका होम बरालले हस्ताक्षर गरेका छन । सो ज्ञापन पत्र गाउँपालिका उपाध्यक्ष वेनु शिवाकोटीले बुझेका थिए ।
ज्ञापन पत्र बझाउने क्रममा कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी राजन बहादुर ढुंगाना, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई र नेकपा माओवादी क्रान्तिकारीका विमलले साझा धारणा राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्