दमक/ जिल्ला प्रशासन कार्यालय झापाले आज आइतबार मध्यराती देखि लागू हुने गरी निषेधाज्ञा लगाएको छ ।
दुई दिन अघि नै कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण फैलिने क्रम उच्च भएकाले तत्काल ७ दिनका लागि निषेधाज्ञा हुने जनाएको थियो । जारी सूचना अनुसार निषेधाज्ञाको समयमा दैनिक उपभोग्य तथा अति आवश्यकीय बस्तुको किनमेलका लागि बिहान ६ बजेदेखि ११ बजे सम्मको समय सीमा तोकिएको छ । त्यसबाहेकको समयमा व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको हो । त्यस्तै निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका काममा बाहिर हिंडडुल गर्न पनि पाइने छैन । त्यस्तै निषेधाज्ञाको समयमा सबै खाले सवारी साधन जोर नम्बर भएकाले जोर गते र विजोर नम्बर हुने सवारी साधन विजोर गतेमात्रै चल्न पाउनेछन ।
विवाह , ब्रतबन्ध वा अन्य अत्यावश्यकीय काममा जानु आउनु परेको अवस्थामा स्थानीय तहको सिफारिसमा ७ जना सम्मलाई अनुमति दिन सकिने पनि निषेधाज्ञामा उल्लेख छ ।
निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यकीय बाहेकका सबै सेवाहरु बन्द गरिएको जनाइएको छ । प्रशासन कार्यालयबाट नागरिकता , राहदानी जारी गर्ने, संघ संस्था दर्ता तथा नविकरण, हातहतियार नविकरण लगायतका कामहरु निषेधाज्ञाको समयमा हुनेछैनन । त्यस्तै राष्ट्रिय परिचय पत्र, नाबालक परिचय पत्रसंग सम्बन्धित सेवा पनि यस अवधिमा स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शान्ति सुरक्षासंग सम्बन्धित निवेदन तथा मुद्धाहरु र अन्य अत्यावश्यकीय सिफारिस मात्रै प्रदान गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
त्यस्तै मालपोत कार्यालय दमकले पनि सूचना प्रकाशित गरेर निषेधाज्ञाको समयमा सेवा प्रवाह बन्द गरिएको र आन्तरिक , प्रशासकिन कामहरु मात्रै हुने जनाएको छ ।

 

Facebook Comments Box