दमक/ प्रदेश एकका विभिन्न ठाउँमा भएका अलग अलग घटनामा चार जनाको मृत्यु भएको छ ।
झापाको कचनकबल–२ की ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी बिर्तामोड–४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनामा मृत्यु भएको छ । आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोलमा मे १ त ७००५ नम्बरको ट्रयाक्टरको डाला पल्टिएर भएको दुर्घटनामा सहचालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही ठाउँका अनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरी गढी–२ औरावनीका ६० बर्षीय रघुनाथ यादवको चट्याङले लागेर मृत्यु भएको छ ।
आज बिहान ८ बजे खेतमा भैंसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको चट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी मोरङ ग्रामथान–५ का ३५ बर्षीय नरेश माझीको दुर्घटनामा मृत्यु भएको छ । आज ( शनिबार) दिउँसो पौने १ बजे ग्रामथान–२ मा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएका थिए । उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु–५ का जय नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।