नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बन्न थालेको छ । पार्टीलाई संवैधानिक संकटबाट जोगाउन ०७८ भदौ ७–१० का लागि तय भएको १४ औं महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ ।

संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।

यो वाध्यतामाथि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या चुनौतीका रुपमा खडा भएको छ । त्यसमाथि अहिले कोरोनाको महामारीको अर्को चुनौती थपिएको छ । कोरोना महामारीका कारण एक दर्जन बढी जिल्लामा निषेधाज्ञा लागू भएको छ भने कोरोनाकै कारण महाधिवेशनसम्बन्धी अन्य कामसमेत प्रभावित बनेको छ ।

२५ भन्दा बढी मानिस भेला हुन नपाउने सरकारी आदेशका कारण पार्टीको केन्द्रीय कार्यसमितिकै बैठक स्थगित गर्नुपर्ने अवस्था बनेको छ भने जिल्लामा पनि महाधिवेशनका गतिविधिमा ब्रेक लाग्दै गएको छ ।

समस्या भयो, तर विकल्प खोज्ने बेला भएको छैन : लेखक

क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकका अनुसार बुधबार राति १२ बजेसम्म साढे सात लाख मात्र क्रियाशील सदस्यता अभिलेखीकरण भएको छ । काँग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य लिएको थियो ।

४ जिल्लामा क्रियाशील सदस्यता दर्ता भएको छैन भने विभिन्न जिल्लाका १० वटा जति निर्वाचन क्षेत्रबाट पनि क्रियाशील सदस्यता अभिलेखीकरण नभएको छानविन समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

विवादित जिल्लालाई भने बैशाख मसान्तसम्म सदस्यता दर्ता गर्ने समय दिइएको छ । अहिलेसम्म अभिलेखीकरण समेत हुन नसकेकाले कोरोना कहरकाबीच निर्धारित मितिमा सदस्यताको अभिलेख राख्ने काम सम्पन्न हुने सम्भावना न्यून छ । लेखकले भने, ‘ काम गर्न अत्यन्तै गाह्रो छ । कोरोनाको बिगबिगी बढ्यो । पार्टी कार्यालयमा बसेर काम गर्नसक्ने स्थिति पनि छैन । जिल्लामा पनि साथीहरुले काम एकदमै गाह्रो भइरहेको बताइराख्नु भएको छ । काम गर्न बढो कठिनाइ भइरहेको छ ।’

लेखकका अनुसार पछिल्लो दुई महिनामा धेरै मिहिनेत गर्दा देशभरबाट सात लाख ४३ हजार क्रियाशील सदस्यता मात्र ‘इन्ट्री’ भएको छ ।

‘बुधबार राति १२ बजेबाट सर्भर बन्द भएको छ । विवाद नभएका सदस्यता इन्ट्री भएका जिल्लाको नामावली हामी सार्वजनिक गर्छौं । जहाँ जहाँ विवाद छ, निर्णय गरेर किनारा लगाउँदै इन्ट्री गरेर सक्छौं’ लेखकले रातोपाटीसँग भने, ‘हामी यो ढंगले अगाडि बढिराखेका छौं । विवादको व्यवस्थापन त गरौंला, तर कोरोनाका कारण निकै कठिनाइ भएको छ ।’

यस्तो बेलामा महाधिवेशन कसरी गर्ने भन्नेबारे पार्टीभित्र गम्भीर छलफल भएर निष्कर्षमा पुग्नुपर्ने लेखकको भनाइ छ । उनका अनुसार अहिलेकै अवस्थामा वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र जिल्ला अधिवेशन कसरी हुन्छन् भन्ने चिन्ताको विषय हो ।

उनले भने, ‘कोरोनाको प्रकोप कहिलेसम्म रहन्छ, त्यसका आधारमा मात्र केही कुरा भन्न सकिने स्थिति छ । कोरोना बढ्दै गयो भने जटिलता थपिँदै जान्छन् । अहिले नै विकल्प खोज्ने भन्दा पनि भदौमै महाधिवेशन गर्ने गरेर अगाडि बढौं । थप कुरा कोरोनाको प्रभाव निर्भर रहन्छ ।’

अहिले नै महाधिवेशनको नयाँ विकल्पबारे छलफल गर्ने बेला नभएको लेखकको भनाइ छ ।

मैले भनेको नमान्दा समस्या भयो : पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अहिले नै महाधिवेशनको विकल्पबारे छलफल गर्ने अवस्था नरहेको बताए । ‘नयाँ विकल्पबारे केन्द्रीय समितिमा कुनै छलफल भएको छैन’ पौडेलले भने, ‘हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु, अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन । अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौं ।’

बरिष्ठ नेता पौडेलले ०७५ मंसिर–पुसमा सम्पन्न महासमिति बैठकमा आफूले राखेको प्रस्तावलाई महत्व नदिनुको परिणाम अहिले आइलागेको पनि बताए । ‘मैले ३ बर्ष अगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरुलाई बुझेर नै अहिलेदेखि नै कार्यतालिका बनाई समयवद्ध भएर काम गरौं भनेर कार्यसमितिमा पनि महासमितिमा पनि प्रस्ताव राखेकै थिएँ’ उनले भने, ‘तर त्योबेलामा त्यसलाई महत्व दिइएन । त्यसलाई पन्छाउने कुरा गरियो । साढे ५ वर्षमा अधिवेशन हुन्छ भनेर सभापतिले त्यही बेलामा भन्नुभयो र मेरो प्रस्तावलाई तर्काउनुभयो । अहिले यत्रो संकटमा हामी पुगिसकेका छौं ।’

वैधानिकता र अबैधानिकताबारे काँग्रेस पार्टीको नेतृत्वले प्रवाह नै गर्न छोडेको पौडेलको आरोप छ । ‘पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौं । पार्टी विधानमा त संकट परिसक्यो । अब देशको संविधानअनुसार भदौ भन्दा उता हामी कोही पनि सदस्य रहँदैनौँ । कोही पनि पदाधिकारी रहँदैनौँ । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन,’ पौडेलले भने ।

त्यस्तो अवस्था आउँछ भने वैकल्पिक उपाय सोच्नेमा विचार गरिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘कुन चाँहि विकल्प हुन्छ भनेर अहिले म भन्दिनँ  । तर, पार्टीको अस्तित्व त बचाउनुपयो । लोकतन्त्रको पहरेदार नेपाली काँग्रेसलाई लोकतान्त्रिक मूल्य, मान्यताअनुसार बचाएर राख्ने कुरामा हामी प्रयत्न गर्छौं ।’  रातोपाटीबाट साभार

Facebook Comments Box